काठमाण्डौ । सनराइज बैंक लिमिटेड र अस्ट्रेलियास्थित ह्वाइट एभरेस्ट प्रालिद्वारा सञ्चालित रोयल रेमिटमार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। 

उक्त सम्झौताअनुसार अस्ट्रेलियामा रहेका नेपालीले नेपालमा रहेका आफन्त तथा इष्टमित्रलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ। यसरी रोयल रेमिट नेपालमार्फत पैसा पठाउँदा उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्थासमेत गरेको छ। 

रोयल रेमिट नेपालमार्फत अस्ट्रेलियाबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका देशभर रहेका १३० शाखा तथा बैंकका देशभर छरिएका १० हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत सजिलै नगद भुक्तानी लिन सकिनेछ। साथै, बैंकका खातावालाको हकमा भने यो सेवा सनराइज बैंकको खातामा मात्र सीमित नभई देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुका खाताहरुमा समेत केही मिनेटमै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ।

सनराइज बैंकको विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिनेमा बैंक विश्वस्त छ।