काठमाण्डौ । विश्व मौसम सम्बन्धी निकाय वर्ल्ड मेटीयोरोलोजिकल अर्गनाइजेन - डब्लुएमओ को प्रारम्भिक आँकडाका अनुसार सन् २०१७, रेकर्ड राख्न थालिए यताकै सबभन्दा धेरै गर्मी तीनवटा वर्षभित्र पर्न सक्ने देखिएको छ।

मानवीय गतिविधिका कारण विश्व तातिदैँ जाने अवस्थामा वृद्धि भइरहेको वैज्ञानिकहरु बताउँछन्।

यस वर्ष विश्वभर नै देखिएका कतिपय "असामान्य" मौसमी अवस्थाहरुले जलवायु परिवर्तनको स्पष्ट संकेत बोकेको ती वैज्ञानिकहरुले बताएका छन्।

यस वर्षको संयुक्त राष्ट्रसंघको महत्वपूर्ण जलवायुसम्बन्धी सम्मेलनमा डब्लुएमओका अनुसन्धानकर्ताहरुले जलवायु परिवर्तनको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्। उक्त प्रतिवेदन गत हप्ता सार्वजनिक गरिएको हरितगृह ग्याससम्बन्धी अध्ययनपछि आएको छ, जसअनुसार पृथ्वीको वायुमण्डलको तापक्रम बढाउने हरितगृह ग्यास मध्य पर्ने कार्बन डाईअक्साइडको स्तर आँकडा राख्न थालिए यताकै उच्च पाइएको थियो।

उक्त नयाँ प्रतिवेदनले जनवरी देखि सेप्टेम्बर महिनासम्मको मात्र अध्ययनलाई समेटेको छ।डब्लुएमओले औद्योगिक क्रान्तिभन्दा पहिलेको स्तरको तुलनामा औसत तापमान १ दशमलब १ डिग्री सेल्सियस बढेको बताएको छ। त्यो भनेको १ दशमलब ५ डिग्री को वृद्धि को खतरनाक मानिएको स्तरको निकै नजिक हो। वैज्ञानिक भन्छन् डेढ डिग्री तापमान वृद्धि भए समुद्रको सतह बढेर साना टापु देशहरु डुब्छन्।
 
वैज्ञानिक विश्लेषणका अनुसार सन् २०१७, १९८१-२०१० का वर्षहरुको औसत तापमान भन्दा ०.४७ डिग्री सेल्सियसले तातो हुने देखिएको छ।

एल निन्यो भनिने मौसमी प्रक्रिया उपस्थित नभएकाले गत वर्षको भन्दा चाहिं यो वर्षको ‍औसत तापक्रम अलिकति कम हुने अनुमान गरिएको छ।

डब्लुएमओका महासचिव पेटेरी तालाशले भने- तापक्रम वृद्धिमा गएका तीन वर्ष शीर्ष स्थानमा रहेका छन् र यो लामो समयदेखि देखिएको विश्व तातिदैँ जाने अवस्थाका कारण उत्पन्न भएको हो।

साथै हालैका महिनामा विश्वभर देखिएको आँधी, गर्मीको लहर र खडेरी जस्ता विकराल मौसमी गतिविधि, केही हदसम्म, मानवीय क्रियाकलापको परिणाम भएको डब्लुएमओले भनेको छ।

यसै वर्ष एक वर्षभित्र अमेरिकामा दुई वटा शक्तिशाली क्याटगोरी फोरका आँधी पनि आए। साथै अफ्रिकी मुलुक सियारा लियोन अनि दक्षिण एसियाली राष्ट्रहरु नेपाल, भारत र बांग्लादेश तथा दक्षिण अमेरिकी राष्ट्र पेरु लगायत अन्य देशमा भीषण बाढी यही वर्ष आएका थिए। अफ्रिका र दक्षिण अमेरिकाका कतिपय भागमा भने खडेरी र गर्मीको लहर चलेको थियो।

बीबीसीबाट