-भक्तराज रसाइली
काठमाण्डौ । पूँजीबजारमा धितोपत्र खरिदबिक्री गर्ने एकमात्र अधिकार पाएका धितोपत्र दलाल व्यवसायीहरुका भीडमा नगन्य संख्यामा रहेका महिलाहरुमध्ये विशिष्ट पहिचान बनाएकी छिन् सरिता अधिकारीले ।

उनको परिचय दिनमा २ पटक फेरिन्छ, बिहान लेक्चरर र दिउँसो धितोपत्र ब्रोकर । 

काठमाण्डौको नयाँबानेश्वरस्थित लिञ्च स्टक मार्केट लिमिटेडकी प्रबन्ध सञ्चालक हुन् सरिता अधिकारी । स्नातकोत्तर(वित्तशास्त्र)अध्ययन गरेकी उनले हाल नमुना मच्छिन्द्र क्याम्पसमा बिहानीपख वित्तशास्त्र विषयमा स्नातक तहलाई अध्यापन समेत गराउँछिन् । उनी शिक्षण पेशामा विगत २५ वर्षदेखि आवद्ध छिन् ।

हाल ललितपुर वडा नम्बर २६ ढोलाहिटीकी स्थायीबासी अधिकारी नेप्से परिसूचक ३  सय हाराहारी हुँदा ब्रोकर व्यवसायमा होमिएकी हुन् । धितोपत्र ब्रोकरको रुपमा आफ्ना सुरुवाती दिन निकै चुनौतिपूर्ण रहेको उनी सम्झिन्छिन् ।

कम्पनी रजिष्टारको कार्यालयमा २०६४ साल पुस १२ गते दर्ता गराई २०६८ साल भदौबाट कारोबार सुरुवात गर्दा उनको पब्लिक कम्पनीमा रहेका १९ जना प्रमोटरबाट विश्वास जित्दै हालसम्म पनि अनवरत रुपमा कार्यरत रहेको अधिकारीले बिजशालालाई बताइन् ।

दश करोड अधिकृत पूँजी रहेको उनको कम्पनीमा हाल चुक्तापूँजी ३ करोड १३ लाख ७९ हजार रहेको छ । नेटवर्थ ५ करोड बढी रहेकामा मार्जिन कारोबारका लागि हाल नेप्सेले तोकेको मापदण्ड पुग्ने उनको दाबी छ । 

काठमाण्डौको मुख्य कार्यालयमा १६ जना कर्मचारी र उपत्यका बाहिर रहेको बुटवलस्थित मिलनचोकमा ४ जना कर्मचारी कार्यरत रहेका छन् ।

वि.सं. २०७१ बैशाखबाट डीपी सेवा समेत सञ्चालनमा ल्याई हाल व्यक्तिगत १४ हजार र संस्थागत ३८ वटा सेवाग्राही रहेका कम्पनीले जनाएको छ । 

उपत्यकाकै मुटु र व्यस्त ठाउँमा सञ्चालित अधिकारीको लिञ्चमा  नियमित रुपमा ५० जना बढी लगानीकर्ताहरुको आवतजावत हुने गरेको छ भने केवाइसी फाराम भर्नेको संख्या ११ हजार रहेको छ । यो कम्पनीमा दैनिक औसत २५ जनाले कारोबार गर्ने र संस्थागत लगानीकर्ता एउटा मात्र रहेको अधिकारीले सुनाइन् ।

चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म लिञ्चबाट कुल १८८ कम्पनीका १३ अर्ब ३६ करोड ८५ लाख ७१ हजार ७सय ८९ रुपैयाँ बराबरको कारोबार भएको थियो । 

सुविधाजनक र सुरक्षित लगानी गर्ने वातावरण निर्माणमा आफूहरु बलियो भएको दाबी गर्ने प्रबन्ध सञ्चालक सरिता अधिकारी अध्ययनपश्चात् बैंकर बन्ने लक्ष्य असफल भएपछि अञ्जानमा ब्रोकर बन्न पुगेको रोचक स्मरण समेत सुनाइन् ।

लिञ्चमा सुरुवातताका दैनिक एकलाखको हाराहारीमा सेयर कारोबार हुन्थ्यो । यो कम्पनीले दैनिक औसतमा १ करोडसम्मको कारोबार गर्ने गरेको छ । 
अन्तर्राष्ट्रिय धितोपत्र ब्रोकरले झैं सेवा विकास र विस्तार गर्न पाए नेपालको पनि पूँजी बजारको विकास हुने अधिकारीको भनाई छ ।

लिञ्चले बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म सेवा दिने गरेको छ । आफ्नो ब्रोकरेज हाउसमा पक्षपातरहित सेवाको साथमा कर्मचारीहरुले मित्रवत व्यवहार गर्ने र व्यवहारिक तथा असल सल्लाह मात्र लगानीकर्तालाई दिइने गरिएको अधिकारीको दाबी छ । 

कुन ब्रोकरकहाँ जाने भन्ने निर्णय लगानीकर्ताकै भएतापनि आफूहरुले उनीहरुको लगानीलाई सकेसम्म सुरक्षित गर्ने कार्यमा सहयोग गरिदिने गरेको उनले बताइन् । 

उनको धारणामा बजारका नियामकहरु स्पष्ट उद्देश्य र दीर्घकालीन लक्ष्यसहित बजार सुधारका लागि अगाडि बढ्नुपर्छ भने देश विकासका लागि अपरिहार्य रहेको पूँजी बजारको विकास  र सम्बद्ध सबै पक्षबीच सहकार्य हुन जरुरी रहेको बताइन ।

धितोपत्र बोर्डबाट १ पटक कार्वाहीमा जरिवानास्वरुप ५० हजार तिरेको बताउँदै केवाइसी फारममा श्रीमान्बिना श्रीमतीले खोलेकै भरमा अनावश्यक कारबाही भोग्नुपरेको दुखेसो पनि गरिन् ।

राष्ट्रिय स्तरमा धेरै काम गर्न बाँकी रहेको भन्दै अधिकारीले योजनाबद्ध रुपले क्रमैसँग पूँजीबजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सकिने बताइन् ।

प्राथमिक बजार झैं दोस्रो बजार पनि आधारभूत ग्राउण्ड लेभलबाटै विकास र विस्तार गर्नुपर्ने उनको बुझाइ छ । प्रविधिमैत्री र सबैको पहूँचयोग्य पूँजीबजार बनाउन नयाँ नयाँ संयन्त्रहरुको विकास अपरिहार्य रहेको उनले सुनाइन् ।

नेप्सेको अनलाइनको समस्या अविलम्ब समाधान गरी यसलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याइनुपर्ने र लगानीकर्तालाई पनि यसमा अभ्यस्त गराइनुपर्ने उनको धारणा छ । बचत रकम लगानी गरेर कमाउने उपयुक्त माध्यम सेयर बजार नै रहेको उनको प्रष्टोक्ति छ ।

महिलाले चलाएको ब्रोकर हाउस भनेर बफादार र इमान्दारको ट्याग धेरै लगानीकर्ताहरुले लगाइदिएकोमा अधिकारीले खुशी व्यक्त गरिन् ।

कस्तो छ त लिञ्च ? सुनौं लगानीकर्ताको कुरा:

गणेश ज्ञवाली(पूर्वकर्मचारी)-बुद्धनगर
स्थापनाकालदेखि नै यहीँबाट  सेयर खरिदबिक्री गरिरहेको छु । म १० नम्बरमा उहाँलाई ८ नम्बर दिन चाहन्छु । मार्जिन कारोबार यहीँबाट गर्न पाए हुन्थ्यो । यहाँका कर्मचारीमा अझ तदरुकता बढोस् ।

रामबहादुर कुँवर(पूर्वकर्मचारी)-बुढानीलकण्ठ
म पनि सुरुदेखि नै यहाँको सेवा लिइरहेको लगानीकर्तामध्ये एक हुँ । एकदम राम्रो छ । आपसी समझदारी र सुविधामा कुनै कञ्जुस्याई छैन । म चाहिँ यो ब्रोकरेज हाउसलाई १० मा ९ नम्बर दिन चाहन्छु ।

सबिता अधिकारी(पूर्व शिक्षक)-पेप्सीकोला
विगत २ वर्षदेखि सेवा लिइरहेकी छु । इन्टरनेट सेवा चाहिँ अलिक सुस्त भए जस्तो लाग्छ ।

सुनिता पोखरेल-पूर्वशिक्षक 
विगत ४ वर्षदेखि नै यहाँ धाउन थालेकी हुँ । महिला ब्रोकर भएर होला महिलामैत्री वातावरण पाएकी छु । डिस्प्ले रुममा अलिक गर्मी जस्तो हुन्छ र अलिक ठाउँ सानो भएर बस्न अलिक असुविधा छ । समग्रमा सन्तुष्ट नै छु ।