काठमाण्डौ । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि उनले अँगालेको हायर अमेरिकन नीतिबाट प्रभावित भएर साउदी अरेबियाको सरकारले समेत विदेशी कामदारहरुलाई देशको केही क्षेत्रमा काम गर्न बन्देज लगाएको छ । त्यहाँको सरकारले सपिंग मल जस्ता ठाउँहरुमा विदेशीलाई जागिर नदिने निर्णय गरेको हो । यसबाट त्यस्ता ठाउँहरुमा काम गरिरहेका हजारौं नेपाली समेत प्रभावित हुने देखिएको छ । 

साउदी सरकारले आफ्ना देशका नागरिकहरुलाई रोजगारीको अवसर बढाउनका लागि यस्तो निर्णय लिएको बताएको छ । साउदी अरब हिजोआज आफ्नो देशको अर्थतन्त्रलाई कच्चा तेलमा निर्भर गर्नुको साटो अन्य विकल्पतर्फ समेत ध्यान दिन थालेको छ । दीर्घकालीन अर्थव्यवस्थाको वृति विकासको अवधारणा अनुसार नै साउदी सरकारको नयाँ निर्णय आएको मानिन थालेको छ । यो निर्णयबाट नेपाल बाहेक भारत, पाकिस्तान, बंगलादेशका हजारौं कामदार समेत प्रभावित हुनेछन् । साउदीमा गएर सपिंग मल लगायतको क्षेत्रमा काम गर्न चाहने विदेशी कामदारहरुलाई समेत साउदी सरकारको नयाँ निर्णयले गतिलै झट्का दिएको छ । 

ब्लुमबर्गमा छापिएको एक रिपोर्ट अनुसार साउदी सरकारको यो निर्णयसँगै सपिंग मल जस्ता ठाउँहरुमा काम गरिरहेका ३५ हजार विदेशी कामदारको जागिर तत्काल गुम्नेछ भने यो ठाउँमा साउदी नागरिकहरुको भर्ति हुनेछ । 

साउदी श्रममन्त्री खालेद अबा अलखेलले अल अरबेयिा न्यूज च्यानलसँग भनेका छन् कि कम्पनीहरुले विदेशी कामदारलाई कसरी र कुन मितिमा कामबाट हटाउने भन्ने बिषयमा केही समय लिएर निर्णय गर्न सक्नेछन् । 

समाचार अनुसार साउदीका डेपुटी क्राउन प्रिन्स मोहमद बिन सलमानले अर्थतन्त्रको कच्चा तेलसँगको निर्भरता कम गराउन अन्य उद्योगको विकासको नीति तयार गरिएको छ । रोजगारीको नयाँ सिर्जनाको अवसर समेत यही सुधारको एक हिस्सा हो । सलमानले साउदी अरबको अर्थतन्त्रको विकासमा विदेशी व्यक्तिसँगको निर्भरता कम गर्न समेत यो कदम उठाएका बताइएको छ । 

साउदीमा ५० प्रतिशत जनसंख्या २५ वर्षमुनिका युवाहरुको रहेको छ । यो जनसंख्यालाई रोजगारीको पर्याप्त अवसर दिने चुनौति सरकारका लागि मुख्य समस्याको रुपमा रहेको छ । गत वर्षको चौथो त्रैमासमा साउदी अरबमा बेरोजगारी दर १२.३ प्रतिशतको विन्दूमा थियो । तर, त्यसअघिको वर्ष भने त्यहाँ बेरोजगारी दर ११.५ प्रतिशत मात्र थियो । यति मात्र होइन, साउदी अरबमा त्यहाँका महिलाहरुमा बेरोजगारी दर ३४.५ प्रतिशत रहेको छ । यही बिषयलाई ध्यानमा राखेर साउदीको श्रम मन्त्रालयले महिलासँग जोडिएका सामाग्री बिक्रीका लागि खोलिएका दोकानहरुमा कामदार राख्दा साउदी महिलाहरुलाई प्राथमिकता दिनुपर्ने आदेश समेत दिएको छ।