काठमाण्डौ । लगानीकर्ताको औधी क्रेजका कारण सपोर्ट माइक्रोफाइनान्सले निश्कासन गरेको आइपीओमा अचाक्ली आवेदन परेको छ । प्रारम्भिक रुपमा सार्वजनिक तथ्यांकलाई हेर्ने हो भने यो कम्पनीको आइपीओ भर्नेमध्ये ९२ प्रतिशत भन्दा बढी लगानीकर्ता नराम्ररी जिल्लिनेछन् । कुल आवेदन दिनेमध्ये ८ प्रतिशतको हाराहारीले मात्र १० कित्ताको दरले सेयर पाउनेछन्, त्यो पनि गोलप्रथाको खेलमा भाग्यमानी ठहरिएर । 

सपोर्ट माइक्रोफाइनान्सको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको एनएमबी क्यापिटलका अनुसार अन्तिम दिन असोज २३ गतेसम्म मागभन्दा १३४ गुणा बढीको आवेदन परेको हो । यो कम्पनीले १ करोड ८० लाख मूल्यको सेयर निश्कासन गरेको थियो । अन्तिम दिनसम्म २ लाख ३६ हजार बढी आवेदकबाट २ अर्ब २४ करोड बढीको प्रस्ताव परेको हो । यो प्रारम्भिक तथ्यांक हो, यसमा सामान्य बढोत्तरी हुनसक्छ । 

सार्वजनिक निश्कासनमा २ देखि ३ लाखको बीचमा आवेदन परेको खण्डमा ४० दिनभित्रमा सेयरको बाँडफाँड गरिसक्नुुपर्छ । यसको अर्थ असोज २३ गतेको ४० दिनभित्र यो कम्पनीको आइपीओ बाँडफाँड गरिसक्नुपर्छ । 

कम्पनीको आइपीओमा न्यूनतमा ५० कित्तादेखि अधिकतम ९०० कित्तासम्म आवेदन दिनसकिने व्यवस्था गरिएको थियो । 

यो माइक्रोफाइनान्स कम्पनीले २ प्रतिशतको दरले हुन आउने ३ हजार ६ सय कित्ता सेयर आफ्ना कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने ९ हजार कित्ता ११ सामूहिक लगानी कोषहरुका लागि छुट्याएको थियो । यसको अर्थ कुल १ लाख ६७ हजार ४ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो । यसरी हेर्दा २ लाख ३६ हजार आवेदकमध्ये न्यूनतम १० कित्ताको नियम लागूू भएर चिठ्ठामार्फत १६ हजार ७ सय ४० ले मात्र सेयर पाउनेछन् । बाँकी सबै आवेदक जिल्ल पर्नुपर्ने अवस्था हुनेछ । 

हाल यो कम्पनीको चुक्तापूँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । आइपीओपछि चुक्तापूँजी बढेर ६ करोडको उचाईमा पुुग्नेछ । आइपीओपछि कम्पनीमा संस्थापक सर्वसाधारण समूहको सेयर संरचना ७० : ३० प्रतिशतमा रुपान्तरण हुनेछ ।