काठमाण्डौ । सपोर्ट माइक्रोफाइनान्सको आइपीओमा थामिनसक्नु आवेदन परेको छ । असोज १८ गतेदेखि खुलेको आइपीओमा तेश्रोे दिन(आइतबार)सम्म मागभन्दा ६६ गुणा बढी आवेदन परेको हो । 

यो कम्पनीले १ करोड ८० लाख मूल्यको १ लाख ८० हजार कित्ताको आइपीओ निश्कासन गरेको थियो । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार तेश्रो दिनसम्म १ लाख ४३ हजार आवेदनबाट १ अर्ब १८ करोड ४७ लाख रुपैयाँभन्दा बढीको प्रस्ताव परेको छ । दोश्रो दिनसम्म ६० करोड बराबरको मात्र आवेदन परेको थियो । देशभरका ७१ हजार बढीले आवेदन दिएका थिए । 

आइपीओमा आवेदनका लागि सोमबार अन्तिम दिन भएकोले यो दिन अझ बढी आवेदन पर्ने देखिएको छ । यसरी यो कम्पनीको आइपीओ बाँडफाँडमा समेत अनिवार्य १० कित्ताको नियमले फेल खाएको छ । यसको सेयर पाउन समेत अब भाग्य नै बलियो हुनुपर्नेछ । चिठ्ठाबाटै १० कित्ता पाउन पनि सकसपूर्ण छनौट हुने परेका अचाक्ली आवेदनहरुले देखाएको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ९०० कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था मिलाइएको थियो । 

यो कम्पनीलाई धितोपत्र बोर्डले साउन २० गते आइपीओ निश्कासनको अनुमति दिएको थियो ।

आइपीओपछि यो माइक्रो फाइनान्सको चुक्तापूँजी ६ करोड रुपैयाँ पुुग्नेछ भने संस्थापक र साधारण सेयरधनीको सेयर स्वामित्व संरचना ७०ः३० प्रतिशतमा रुपान्तरण हुनेछ । 

यो माइक्रो फाइनान्सले आर्थिक वर्ष ०७३/७४ मा ४८ लाख बढी खूद नाफा आर्जन गरेको छ ।