काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक र काबेली विकास बैंकको मर्जरपछि आउँदो असार २२ गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको छ । 

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले दुवै बैंकको मर्जरलाई गत जेठ २९ अन्तिम स्वीकृति प्रदान गरेको थियो। सप्तकोशी डेभलपमेन्ट बैंकको नामबाट असार २२ गतेदेखि दुबै संस्थाको एकीकृत कारोबार हुने भएको हो।

प्रादेशिकस्तरको बैंक बन्ने लक्ष्यसहित संयुक्त कारोबार गर्ने दुई बैंकबीच गत माघ पहिलो साता सहमति भएको थियो । त्यतिखेर यो बैंक प्रदेश १ कै सबैभन्दा ठूलो बैंक बन्ने संचालकहरुले दाबी गरेका थिए। 

मर्जपछि बैंकको मुख्य कार्यालय धनकुटामा र कर्पोरेट अफिस विराटनगरमा हुनेछ ।

सप्तकोशी डेभलपमेन्ट बैंक २०६९ सालमा क्षेत्रीय बैंकको रुपमा स्थापित भई मोरङ, इलाम र पाँचथरमा सेवा दिइरहेको छ । हालै यो बैंकले झापा र सुनसरीमा समेत आफ्नो कार्यक्षेत्र बिस्तार गरिसकेको छ ।

हाल बैंकको चुक्तापूँजी ५२ करोड ३७ लाख र शाखा सञ्जाल संख्या १६ वटा रहेको छ ।

उता, धनकुटा र तेह्रथुममा सेवा दिइरहेको काबेली विकास बैंक २०६५ सालमा स्थापना भएको थियो । यसअघि काबेलीसँग माउन्ट मकालू विकास बैंकको मर्जर भएको थियो ।

हाल काबेलीको चुक्तापूँजी २८ करोड ४३ लाख रहेको छ भने शाखा सञ्जाल संख्या ७ रहेको छ ।

दुई बैंकको मर्जरपछि बन्ने बैंकको चुक्तापूँजी ८० करोडमाथि पूग्नेछ । 

नेपाल राष्ट्रबैंकले प्रदेशस्तरको बैंक बन्नलाई १ अर्ब २० करोड चुक्तापूँजी हुनुपर्ने व्यवस्था गरेको छ । यसको अर्थ अब बैंकले ४० प्रतिशत पूँजी वृद्धि गर्नुपर्ने बाध्यता देखिन्छ । यसका लागि उसले थोरै बोनस सेयर र धेरै हकप्रदमा जोड दिन सक्छ ।

मर्जरपछि बन्ने बैंकले प्रदेश नम्बर १ का सबै १४ जिल्ला र सबै स्थानीय तहमा मर्जरको २ वर्षपछि शाखा सञ्जाल बिस्तार गर्ने योजना समेत बनाएको छ । 

दुई बैंकको मर्जरपछि प्रोमोटर सेयरहोल्डरको संख्या ४२२ पुग्ने र सर्वसाधारण सेयरहोल्डरको संख्या करिब २८ हजार पुग्ने बताइएको छ । 

२०७५ असार मसान्तसम्मको तथ्यांक हेर्दा दुई बैंकबाट परिचालन भएको निक्षेप २ अर्ब ४२ करोड र ऋण लगानी २ अर्ब २६ करोड हुनेछ ।