काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले समयमै प्रगति प्रतिवेदन नबुझाउने सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको धितोपत्र सूचीकरण स्थगन गरेको छ ।

नेप्सेले सोमबार सूचना प्रकाशित गर्दै उक्त बैंकको धितोपत्र सूचीकरण स्थगन गरेको जानकारी गराएको हो । विराटनगर केन्द्रीय कार्यालय रहेको बैंकले धितोपत्र सूचीकरण विनियमावलीको सूचीकरण सम्झौता व्यवस्था उल्लंघन गरेकोले सूचीकरण स्थगत गर्नुपरेको नेप्सेले स्पष्ट पारेको छ ।

विनियममा व्यवस्था भएअनुसार हरेक संगठित संस्थाले प्रत्येक त्रैमासिक अवधि समाप्त भएको एक महिनाभित्र सो अवधिभित्रका कामकारबाही, वित्तीय विवरणसहितको प्रतिवेदन (विद्युतीय प्रति) पेस गर्नुपर्नेमा उक्त बैंकले नगरेकोले कारबाही गर्नुपरेको नेप्सेले जनाएको छ ।