काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट उत्पन्न परिस्थितिका कारण स्थगित हुन पुगेको सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको १२ औँ वार्षिक साधारणसभाको मिति पुनः तय गरिएको छ। 

बैंक सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही असार २१ गते विराटनगरस्थित उद्योग संगठन मोरङको कार्यालयमा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजी ७८ करोड ७१ लाख ११ हजार ७२८ रुपैयाँको ६ प्रतिशतले हुन आउने ४ करोड ७२ लाख २६ हजार ७०३.६८ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित हुनेछ। बोनस सेयर वितरणपछि हुने चुक्तापुँजीका लागि बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाबाट संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३  जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक चयन हुनेछन्। 

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले गत चैत १७ गतेदेखि चैत ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरिसकेको छ। यसको मतलब चैत १६ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन्।