काठमाण्डौ । सप्तरी जिल्लामा एक महिलासहित थप ९ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीको डाकनेश्वरी नगरपालिकाका एक महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यीसँगै डाकनेश्वरी नगरपालिकामा मात्रै कोरोना संक्रमितको संख्या १२ पुगेको छ। 

आज थपिएका सबैजना भारतबाट आएका र १८ वर्षदेखि ७० वर्ष उमेर समूहका रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए।

यीसँगै जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ४२ पुगेको छ। तीमध्ये २४ जनालाई गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ। बाँकी संक्रमितलाई समबन्धित पालिकाकै क्वारेन्टाइनमै राखिएको छ।