काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो इकमर्स कम्पनी अमेजन विश्वकै  सबैभन्दा ठूलो कम्पनी बन्न सफल भएको छ । अमेजनले बिल गेट्सको कम्पनी माइक्रोसफ्टलाई पछार्दै यो सफलता हासिल गरेको हो । 

अमेजनको कुल बजार पूँजीकरण ७९७ अर्ब डलर भन्दा बढी भइसकेको एजेन्सीहरुले जनाएका छन् । अमेजनको यो सफलताको यात्रा त्यति सहज भने थिएन ।

अमेजन कम्पनीका संस्थापक जेफ बेजोसले आफ्नो करिअरको सुरुवात मेकडोनाल्ड्स कम्पनीमा सफाई कर्मचारीदेखि गरेका थिए । त्यसबेला उनी एक लगनशील, मेहेनती र हरदम सिक्न खोज्ने सफाई कर्मचारीको रुपमा परिचित थिए । उनको यही विशेषताले उनलाई आजको अवस्थामा पुर्याएको बताइन्छ ।

उनी अहिले विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् । र, उनको कुल सम्पत्ति १३७ अर्ब डलर भन्दा बढी छ । उनको लोभलाग्दो सफलताबाट अहिले विश्व चकित छ । तर, यो सफलतापछिको कठीनपूर्ण संघर्षको विषयमा सायद तपाईलाई थाहा नहुन सक्छ । 

हालै आफ्नी पत्नीसँग डिभोर्स गर्ने निर्णयपछि उच्च चर्चामा रहेको बेजोसले १६ वर्षको उमेरबाट आफ्नो करिअरको सुरुवात गरेका थिए । 

सो बेला उनले मेकडोनाल्ड्सबाट सफाई कर्मचारीको रुपमा करिअरको सुरुवात गरेका एक अन्तर्वार्ताको क्रममा स्वयम् उनले बताएका थिए ।

उनले त्यो अन्तर्वार्तामा भनेका छन् ः नोकरीको पहिलो हप्ता नै केचपको पाँचवटा गिलेन किचनमा खुल्ला रहेछ । र, निकै ठूलो परिमाणमा केचप पोखिएर भूईमा जम्न पुगेको थियो । म नयाँ थिए, यसकारण पनि सबैले काम अह्राउथे । मलाई उनीहरुले सफाईका लागि आग्रह गर्दै सफाईको सामान दिए र मैले पनि निकै राम्रो ढंगले त्यहाँ सफाई गरिदिएँ । 

बेजोसले सो कम्पनीमा काम गरेको आफ्नो अनुभव निकै विशेष रहेको समेत खुलाएका छन् । उनी कम्पनीको अटोमेटेड सेवाको निकै ठूलो फ्यान समेत थिए । यसबाट उनलाई कस्टुमर सर्भिसको विषयमा थाहा भयो भने दवाबमा रहेर कसरी काम गर्न सकिन्छ भन्ने विषयको समेत पर्याप्त ज्ञान भयो । त्यसपछि उनले काम गर्दै जाँदा एक राम्रो प्रबन्धकको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने बिषय पनि थाहा पाए ।

सफलताको रहस्य
बेजोसको भनाईमा तपाई जस्तोसुकै काम वा जागिर गर्नुहोस्, तपाई गम्भीर हुनुहुन्छ भने हरेक कामबाट सिक्न सक्नुहुन्छ । अझ किशोर अवस्थाबाटै करिअर सुरु हुने हो भने स्कूलमा जे सिकिएको हुन्छ, जागिरमा त्यो भन्दा निकै फरक र विशेष कुरा सिकिन्छ । 

यो जागिरपछि जेफ बेजोसले कम्प्युटर इञ्जिनियरिंगको पढाई पूरा गरेका थिए । त्यसपछि उनले बैंकर्स ट्रस्ट नामको कम्पनीमा काम गरेका थिए । 

उनी त्यसबेलादेखि नै कुनै एउटा नयाँ व्यवसायको योजनामा थिए । त्यति नै बेला उनमा अब आउने समय इकमर्सको समय रहेको ज्ञान प्राप्त भयो ।

किनभने मानिसहरुसँग सामान खरीदका लागि निकै कम समय हुने गरेको उनले प्रत्यक्ष देखेका थिए, त्यसपछि उनले इन्टरनेटको मद्धतबाट यस्तो एक प्लेटफर्म तयार गर्ने विषयमा सोचे, जहाँबाट मानिसले आफ्नो आवश्यकताको सामान निकै सुलभ मूल्यमा किन्न सकून् । यही निश्कर्षका साथ जेफ बेजोसले आफ्नो जागिर छाडिदिए र अमेजनको सुरुवात गरे । आज यो अवस्थामा आइपुगे ।