काठमाण्डौ । राष्ट्रबैंकले सफा नोट नीति कार्यान्वयनमा ल्याए पनि बैंकहरुबाटै धज्जी उडिरहेको देखिएको छ । 

केन्द्रीय बैंकको यो नीतिको सफल कार्यान्वयनमा बैंकहरु गम्भीर नहुँदा सर्वसाधारण ग्राहकहरुले सफा नोट प्रयोग गर्न पाएका छैनन् । 

नियामकको आँखा छलेर बैंकहरुले ग्राहकहरुलाई मैलो परेको, झूत्रो, केरमेट भएको, रंग लागेको र स्टीच गरिएको नोट नै दिने गरेका छन् । 

राष्ट्रबैंकले सफा नोट नीति कार्यान्वयनकै लागि बैंक तथा बित्तीय संस्थाहरुलाई मापदण्डविपरीतका नोट संकलन गरी राष्ट्रबैंकलाई बुुझाए सोही अनुसारको सटही सुविधा हुने भने पनि बैंकहरुले त्यसका लागि अतिरिक्त खर्च हुने भन्दै नीति कार्यान्वयन गर्न आनाकानी गरिरहेका देखिएको छ । 

बैंकमा आएका नोटहरुमध्ये सफा र झूत्रा नोट छान्नलाई जनशक्ति चाहिने र त्यसमा खर्च हुने भन्दै बैंकहरुले लापरबाहीपूर्ण तरिकाले अझै पनि सर्वसाधारणलाई झूत्रा र कामै नलाग्ने नोट समेत भुक्तानीको रुपमा दिइरहेका राष्ट्रबैंकले जनाएको छ । 

लामो समयसम्म पनि बैंक तथा बित्तीय संस्थाहरु सफा नोट नीति कार्यान्वयनमा गम्भीर नदेखिएपछि राष्ट्रबैंकले निकै कठोर हुने संकेत दिएको छ । राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाका अनुसार सफा नोट नीति कार्यान्वयनका लागि बैंकहरुलाई ९ वर्षे लामो कुलिङ पिरियड दिइएको र अब सो अवधि समाप्त भएकोले नयाँ आर्थिक वर्षको सुरुवातदेखि नै कडाई गरिने प्रष्ट पारे । ‘केन्द्रीय बैंकको नीतिलाई बैंकहरुले पूर्ण पालना गरेनन्, अब हामी हस्तक्षेपकारी भूमिकामा प्रस्तुत हुन्छौ ।’ बिजशालासँग कुरा गर्दै कार्यकारी निर्देशक निरौलाले भने–‘बैंकहरुले लापरबाही गर्दा झूत्रा, केरमेट भएका, रंग लागेका नोटहरुको समस्या आइरहेको छ, यसलाई अब समाधान गर्नतर्फ हाम्रो ध्यान केन्द्रीत हुनेछ ।’ 

उनका अनुसार राष्ट्रबैंकले पछिल्लो समय झूत्रा, केरेमट भएका, रंग लागेका र स्टीच मारिएका नोटहरु अस्वीकार गर्न थालेको छ । यो क्रम पछिल्लो समय निकै तीव्र बनाइएको उनले जानकारी दिए । योसँगै जुन–जुन बैंकमा यस्तो समस्या देखिएको छ, उनीहरुलाई सोध्ने काम र सचेत गराउने काम समेत सुरु गरिसकिएको छ । ‘अब तेश्रो चरणमा हामी सम्बन्धित बैंकका प्रमुखहरुलाई सफा नोट नीति कार्यान्वयन नगरे कारबाहीको सिफारिस गर्नेछौ ।’ उनले भने–‘हामीले ९ वर्ष बैंकहरुलाई दियौं, अब एक्सनमा जान्छौ ।’ 

उनले निकट भविष्यमै राष्ट्रबैंकले सफा नोट नीति कार्यान्वयनको अवस्थाको बिषयमा बैंक तथा बित्तीय संस्थाहरुमा गएर सुुक्ष्म निरीक्षण समेत थाल्ने जानकारी दिए । निरीक्षणको क्रममा नीति कार्यान्वयन नगरेको पाइएमा कारबाहीको सिफारिस गरिने समेत उनले प्रष्ट्याए । 

मुद्रा व्यवस्थापन विभागले सर्वसाधारणहरुलाई समेत केही महिना समय दिएर सचेतना जगाउने बिषयमा समेत योजना बनाइरहेको छ । यसमा निश्चित समयसीमा दिएर त्यो अवधिभित्र केरमेट गरेका, झूत्रा तथा पुराना, रंग दलिएका र स्टीच लगाइएका नोटहरु बैंक तथा बित्तीय संस्थामा बुुझाउन सूचना जारी गरिनेछ । निरौलाले आफ्नो भावी योजना सुनाउँदै भने–‘निश्चित समयसीमा भन्दा पछाडि बैकिङ प्रणालीमा आउने त्यस्ता नोटहरु सटही गर्न राष्ट्रबैंक बाध्य हुने छैन भन्ने जानकारी समेत अगाडि नै दिइनेछ ।’ 

निरौलाको भनाईमा पछिल्लो कालमा मुद्रा व्यवस्थापन विभागको सक्रियताका कारण झूत्रा र पुराना नोटको प्रयोग केही कम भएको देखिए पनि त्यो सन्तोषजनक छैन । ‘पहिला भन्दा सुधार त भएको छ, तर त्यो पर्याप्त छैन ।’ निरौलाले भने–‘अहिले पनि सफा नोट नीति विपरीत कामै नलाग्ने नोट प्रचलनमा ल्याइने घटना आइरहेका छन् । यसलाई पूर्ण रुपमा ठप्प पारी जनतालाई सफा नोटको सुविधा दिन हामी गम्भीर छौ ।’ 

उनले बैंकहरुले आफ्ना शाखामार्फत सर्वसाधारणलाई भुक्तानी गर्दा झूत्रा र पुराना नोट दिइरहेका उल्लेख गर्दै यस्तो काम बन्द गर्न आग्रह समेत गरेका छन् ।