काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको रु. ५.३० करोड मूल्यको आईपीओमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ । 

नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि सबैको लघुवित्तले रु. १०० अंकित दरका ५ लाख ३० हजार कित्ता सेयरको आईपीओ गत बुधबारदेखि निश्कासन गरेको थियो । कुल निश्कासित आईपीओमध्ये ८ हजार २५० कित्ता सेयर कर्मचारीहरु तथा २६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी ४ लाख ९५ हजार २५० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । 

लगानीकर्ताले कम्तीमा १० कित्ता र अधिकतम २ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निस्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । 

तनहुँको बन्दीपुरस्थित केन्द्रीय कार्यालय रहेको यो कम्पनीले आफ्नो दोस्रो वार्षिक साधारणसभाबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो। कम्पनीमा संस्थापकतर्फको ७० प्रतिशतबराबरको ११ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ भने आईपीओ बिक्रीपछि चुक्तापुँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ । 

कम्पनीको पाँच करोड ३० लाख मूल्यबराबरको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ दिएको छ । यो रेटिङले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको दर्शाउँछ ।

इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ।