काठमाण्डौ । एमालेका कतिपय किल्लाहरु कमजोर बनेर अरु दलले धावा बोलिरहे पनि एमालेले धनकुटामा शानदार जित हासिल गर्दै क्लीन स्वीप गरिदिएको छ । 

धनकुटाको सातै स्थानीय तहमा एमालेले शानदार जित हासिल गरेको हो । 

धनकुटाका ३ नगरपालिका र ४ गाउँपालिकामध्ये कतिपयमा कांग्रेस माओवादी, कांग्रेस संघीय समाजवादी, कांग्रेस नयाँ शक्ति लगायतका दलहरु मिलेर एमालेलाई हराउन खोजे पनि एमालेले सबैलाई हराइदियो । अन्य सबै दल मिल्दा समेत एमालेले कतिपय ठाउँमा त तेब्बर बढी मतले समेत जित हासिल गरेको देखिएको छ । 

लामो समयसम्म सूूर्यबहादुर थापा र उनको दल राप्रपाले राज गरेको धनकुटामा पछिल्लो समय माओवादीले शानदार रुपमा जित हासिल गरेको थियो । तर, यसपटक माओवादी सो ठाउँमा निकै कमजोर देखिएको छ भने एमालेले सबै स्थानीय तहमा क्लीन स्वीप गर्दै धनकुटालाई आफ्नो लालकिल्लाको रुपमा पुनस्थापित गरेको छ । 

धनकुटाको कुन तहमा कति मत ल्याएर एमालेले जित्यो ? दोश्रो स्थानमा को रह्यो ? हेरौं सूचि :

धनकुटा नगरपालिका
यो नगरपालिकाको मेयरमा एमालेका चिन्तन तामाङ र उपमेयरमा एमालेकै शकुन्तला बस्नेत विजयी भए। मेयरमा विजयी तामाङले ४ हजार ९ सय ३३ मत ल्याए भने कांग्रेसका दिनेश राईले ४ हजार ८१९ मत प्राप्त गरे । उपमेयरमा विजयी बस्नेतले ५ हजार १ सय १२ मत ल्याउँदा कांग्रेसकी रेणुु श्रेष्ठले ३ हजार ३ सय ९२ मत मात्र ल्याइन् । 

पाख्रीबास नगरपालिका
यो नगरपालिकामा एमालेका बिर्खबहादुर राईले निकटतम प्रतिदन्दी कांग्रेसका उम्मेद्वार भन्दा दोब्बर बढी मत ल्याएर शानदार जित हासिल गरे । उनले ४ हजार ४ सय ३९ मत ल्याए  । उपमेयरमा समेत एमालेकै देवकला तिम्सिनाले ४ हजार ४ सय २६ मतले बाजी मारिन् । यो स्थानमा दोश्रो तहमा कांग्रेस नै रह्यो । मेयरमा कांग्रेसकी उम्मेद्वार इन्दिरा थापाले १ हजार ६ सय २८ मत ल्याइन् भने उपमेयरमा कांग्रेसकै ज्ञानबहादुर गुरुङले १ हजार ८ सय ३३ मतै चित्त बुुझाउनुपर्यो । 

महालक्ष्मी नगरपालिका
यो नगरपालिमा एमालेका पर्शुराम नेपालले ४ हजार ८ सय ९७ मत ल्याई जित हासिल गरे । उपमेयरमा एमालेकै मञ्जुु अधिकारीले ४ हजार ५ सय ३५ मतले जितिन् ।  यो ठाउँमा मेयरमा नेपाली कांग्रेसका अग्नीप्रसाद पौडेलले ३१५६ मत ल्याई दोश्रो स्थानमा रहे । उपमेयरमा राप्रपाका महेन्द्र निरौलाको २ हजार १ सय ५६ मात्र मत प्राप्त भयो । 

खाल्सा छ्रिन्ताङ गाउँपालिका
यो गाउँपालकिामा पनि एमालेका उम्मेद्वार मनोज राईले कांग्रेस माओवादी गठबन्धनका उम्मेद्वार भरतसिंह राईलाई झण्डै तीन गुणा मतले पराजयको धूलो चटाइदिए । उनले ४ हजार ५४ मत ल्याएर जित हासिल गर्दा गठबन्धनका उम्मेद्वार भरतसिंह राई १ हजार ५ सय ७९ मै सीमित बन्न पुुगे । एमालेको तर्फबाट उपमेयरकी उम्मेद्वार रत्नेश्वरी राईले ३ हजार ९ सय १६ मतले जित हासिल गरिन् । कांग्रेसकी कमलकुमारी राई यो क्षेत्रमा दोश्रो भइन् । 

चौबिसे गाउँपालिका

यो गाउँपालिकामा एमालेका प्रमुख पदका उम्मेद्वार खजिन्द्र राईले झिनो मत अन्तरले संघीय समाजवादी समर्थित कांग्रेस उम्मेद्वारलाई हराए । राईले ३ हजार ७ सय ८४ मत ल्याए भने कांग्रेसका हर्क चेम्जोङले ३ हजार ३ सय ७९ मत ल्याए । उपप्रमुखमा पनि एमालेका यज्ञकुमारी रूचालले ३ हजार ६ सय ९६ मत ल्याउँदै कांग्रेस समर्थित संघीय समाजवादीका उमेदवार उपेन्द्र लावतीलाई हराइन् । लावतीले २ हजार ६ सय ९९ मत ल्याए ।

छथर जोरपाटी गाउँपालिका
यो क्षेत्रमा समेत एमालेले दोब्बर बढी मतले जित हासिल गर्यो । छथर जोरपाटी गाउँपालिकाको प्रमुखमा शेरबहादुर लिम्बू३ हजार ३ सय ४९ र उपप्रमुखमा एमालेकै भीमकला श्रेष्ठ ३ हजार २ सय ८९ मतले विजयी भइन् । प्रमुखमा निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका विष्णुु पारघरीले १ हजार ५ सय ३१ र उपप्रमुखमा कांग्रेसकै भीमकलाले ३ हजार २ सय ८९ मत ल्याइन् । 

सागुरीगढी गाउँपालिका

यो स्थानमा पनि एमालेले फराकिलो मतअन्तरले जित हासिल गरेको छ । गाउँपालिका प्रमुखमा एमालेका कुमारजं याक्खा ४ हजार २९ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिदन्दी संघीय समाजवादी समर्थित कांग्रेसका जितेन्द्र राईले ३ हजार ३ सय ३३ मत मात्र ल्याए । उपप्रमुखमा एमालेकी विन्द्रा राई विजयी भइन् । उनलाई कांग्रेस समर्थित नयाँ शक्तिका उम्मेद्वार बलबहादुर राईले पछ्याउन मात्र भ्याए ।