काठमाण्डौ । ह्याकर भन्नासाथ सायद नेपालीहरु नाक खुम्चाउँछन् । न खुम्चाउन पनि किन ? केही समययता स्वदेशी तथा विदेशी ह्याकरहरुले बैंकिङ सिस्मट ह्याक गरेर करोडौँ रकम चोर्न सफल भएका छन् ।

ह्याकर सबै नराम्रा काम पनि गर्दैनन् । केही ह्याकरले सिस्टम ह्याक गर्ने खुबीले कानुनी रुपमै लाखौँ कमाइरहेका पनि छन् ।

भारत पूणेका प्रणव हिवरेकर फेसबुकको आधुनिक फिचरमा रहेका कमीकमजोरी पत्ता लगाउने मिसनमा लागे । उनी पूर्ण रुपमा फेसबुकको सिस्टम ह्याकिङ गर्ने काममा लागे ।

करिब ८ घन्टा अगाडिमात्र फेसबुकले आफ्ना युजर्सका लागि भिडियो पोस्ट गरेर कमेन्ट गर्ने फिचर उपलब्ध गराएको थियो । ह्याकिङ गर्ने क्रममा प्रणवले एउटा यस्तो कोड पत्ता लगाए जसको मद्दतले उनले फेसबुकमा अपलोड गरिएको कुनै भिडियो सजिलै डिलिट गर्न सक्थे । प्रणवले आफूले पत्ता लगाएको कोडका बारेमा फेसबुकको ‘बग बाउन्टी’ प्रोग्राममार्फत फेसबुकलाई जानकारी गराए ।

केही दिनमै फेसबुकले उनलाई पाँच डिजिटमा अमेरिकी डलर पुरस्कार स्वरुप उपलब्ध गरायो । जुन लाखौँ रुपैयाँको थियो ।

ह्याकर प्रणव त पछिल्लो एउटा उदाहरणमात्र हुन् । अहिले विश्व बजारमा कानुनी रुपमै ह्याकरहरुले लाखौँ रुपैयाँ कमाइरहेका छन् । अहिले हजारौँ युवा सिस्टम ह्याक गर्ने पेसामा लागेका छन् । जसमा धेरैजसो १८ वर्षदेखि २९ वर्षसम्मका छन् ।

यी ह्याकहरु कुनै पनि ठूला कम्पनीको सिस्टम ह्याक गरेर उनीहरुको कमजोरीबारे जानकारी गराउँदै कानुनी रुपमै लाखौँ रकम कमाइरहेका छन्।

उत्तर भारतका ह्याकर शिवम वशिष्ठ वर्षमा आफ्नो ह्याकिङ गर्ने क्षमताबाटै कानुनी रुपमा १.५ लाख डलरसम्म कमाउँछन् । ‘मैले सिस्टम ह्याक गरेर पुरस्कारस्वरुप नै पैसा पाउने हो, गैरकानुनी काम गरेर होइन, गर्दिनँ पनि’, उनी भन्छन्, ‘अहिलेमा विश्वका ठूलठूला कम्पनीहरुका लागि सिस्टम ह्याक गरेर कमीकमजोरी पत्ता लगाउने काममा लागेको छु, यसबाट राम्रै भइरहेको छ । चुनौती पनि छ र रोमाञ्चक पनि हुन्छु ।’

शिवम ह्याकिङ सिक्नका लागि थुप्रै रात जाग नै बसेको अनुभव सुनाउँछन् । ‘मेरो उद्देश्य नै सिस्टममा अट्याक गर्न सकौँ भन्ने थियो’, उनले भने, ‘यही लतका कारण मैले युनिभर्सिटीको पढाइ छोँडे तर पछुतो लागेको छैन । अहिले म ठूलै आम्दानी गरिरहेको छु ।’

आईटी विशेषज्ञहरु पेसेवर ह्याकरलाई कानुनी बाटोमा ल्याउन दिइने पुरस्कारले प्रोत्साहन गरिरहेको बताउँछन् । यदि पुरस्कार नदिने हो भने उनीहरु कुनै पनि कम्पनीको सिस्टम ह्याक गरेर अरुलाई बेचेर कमाउन ध्याउन्नमा लाग्न सक्ने डर हुने उनीहरुको ठम्याइ छ ।

साइबर सेक्युरिटी फर्म ह्याकरवनका अनुसार सन् २०१८ मा अमेरिकी र भारतीय ह्याकरहरुले पुरस्कारबापत सबैभन्दा राम्रो आम्दानी गरेका छन् 

ह्याकिङको क्षेत्रमा गिकब्वाईका नामले परिचित सन्दीप सिंह सिस्म ह्याक गर्ने काम सिक्नलाई धेरै नै मेहनत गर्नुपर्ने बताउँछन् । ‘मलाई पहिलो वैधानिक इनाम जित्नका लागि करिब ६ महिना लाग्यो, जसका लागि मैले करिब ५४ पटक आवेदन दिएको थिएँ’, उनी सम्झिन्छन् ।

विश्वमा ह्याकरवन, बग क्राउड, सायनैकजस्ता थुप्रै कम्पनीहरु अन्य ठूला कम्पनी र सरकारीका तर्फ ह्याकिङमार्फत पुरस्कारको कार्यक्रम चलाइरहेका छन् । यी कम्पनीहरु विशेष गरी कानुनी रुपमा आउने ह्याकरहरुको काम जाँच्ने र उनीहरुको कामको गोपनीयता राख्ने काम गर्छन्।

ह्याकर वनको सुचीमा अहिले ५ लाख ५० हजार ह्याकर आबद्ध छन् । ह्याकर वनका अपरसेन प्रमुख बेन सादेगहिपोरका अनुसार यो कम्पनीले अहिलेसम्म ७० मिलियन डलर रकम पुरस्कारस्वरुप बाँडिसकेको छ । – एजेन्सी