काठमाण्डौ । समता माइक्रो फाइनान्सले खुलाएको सेयरको प्राथमिक निश्कासन(आइपीओ)ले रेकर्डमाथि रेकर्ड बनाएको छ । 

पहिलो दिन नै माग गरेको भन्दा करिब ३२ गुणा बढीको आवेदन परेर रेकर्ड बनाएको समताको आइपीओमा तेश्रो दिनसम्म मागको तुलनामा १३० गुणा भन्दा बढी आइपीओ परेको बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल लिमीटेडले जनाएको छ । 

बाराको सिमरामा अवस्थित यो माइक्रो फाइनान्सले पुस १९ गतेदेखि ९४ लाख ८० हजार रुपैयाँ बराबरको कुल ९४ हजार ८ सय कित्ता सेयरको प्राथमिक निश्कासन गरी आवेदन आह्वान गरेको थियो । 

तेश्रो दिन अर्थात बिहीबारसम्म आइपीओमा देशभरका संकलन केन्द्रबाट ५४ हजार आवेदन परेका र कुल १ अर्ब १४ करोड बढीको प्रस्ताव आइसकेको छ । शुक्रबार आइपीओमा आवेदन दिने अन्तिम दिन भएकोले कुल आवेदन तथा प्रस्ताव रकम निकै माथि पुग्न सक्ने देखिएको छ । हालसम्मको कुनै पनि सार्वजनिक निश्कासनहरुमा यति अचाक्ली आवेदन नपरेको जानकारहरु बताउँछन् । ‘समताको आइपीओले प्रत्येक दिन नयाँ नयाँ रेकर्ड बनाएको छ ।’ बिक्री प्रबन्धकको काम गरिरहेको एनआइबिएल क्यापिटलका एक अधिकारीले बिजशालासँग भने–‘पहिलो दिन, दोश्रो दिन हुँदै तेश्रो दिनसम्म हरेक दिन अधिक आवेदन आकर्षण गरी नयाँ नयाँ रेकर्ड बनाएको हो ।’ 

इच्छुक लगानीकर्तालाई न्यूनतम ५० देखि ५ सय कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको थियो । 

यो माइक्रो फाइनान्स कम्पनीले कुल निश्कासन गरेको आइपीओमध्ये १ हजार ८ सय ९६ कित्ता सेयर आफ्ना कर्मचारीका लागि, ४ हजार ७ सय ४० कित्ता १० वटा म्युुचुुअल फण्डलाई र बाँकी कित्ता सर्वसाधारणका लागि छुट्याएको छ । 

आइपीओको व्यवस्थापनपछि कम्पनीको चुक्तापूँजी हालको २ करोड २१ लाखबाट  ३ करोड १६ लाखको उचाईमा पुुग्नेछ । यो माइक्रो फाइनान्सको अधिकृत पूँजी ५ करोड रुपैयाँको छ । यस्तै, आइपीओपछि कम्पनीमा संस्थापक साधारण सेयरधनीको सेयर स्वामित्व संरचना ७० : ३० प्रतिशतमा रुपान्तरण हुनेछ ।