काठमाण्डौ । समता माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले असोज ४ गते(आज)देखि बिक्री नभएको हकप्रद सेयर लिलामीमा राखेको छ । 

कम्पनीले बिक्री नभएको १६ हजार ५ सय ६८ कित्ता सेयरको लिलामी खुलाएको हो, जसमा इच्छुक लगानीकर्ताले असोज १४ गतेसम्म तोकिएको स्थानमा गोप्य शिलबन्दी दरखास्त दिनुपर्नेछ ।

कम्पनीले संस्थापक समूहतर्फको ३ हजार ९ सय र सर्वसाधारणतर्फको १२ हजार ६ सय ६८ कित्ता सेयर लिलामीबाट बिक्री गर्न लागेको हो ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ । 

इच्छुकले साधारण सेयरका लागि न्यूनतम १०० कित्ता तथा संस्थापकका लागि १००० कित्ताका लागि आवेदन दिन सक्नेछन् । दुवै खालका सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँमा बोल लगाउनुपर्नेछ ।

संस्थापक सेयरको हकमा समताका हाल कायम संस्थापक सेयरधनीलाई लिलामीमा पहिलो प्राथमिकता दिइने कम्पनीले जनाएको छ । 

यसैबीच, सेन्ट्रल फाइनान्स लिमीटेडले समेत बिक्री नभएको संस्थापक सेयरको लिलामी बिहीबारदेखि नै खुलाएको छ । यो कम्पनीले जारी गरेको हकप्रदमा बिक्री नभएको ४ लाख ५६ हजार ३ सय ८.७२५ कित्ता संस्थापक सेयरलाई लिलामीमा राखेको हो ।

यो कम्पनीको बिक्री प्रबन्धक समेत एनआइबिएल एस क्यापिटल नै रहेको छ ।

न्यूनतम १ हजार कित्ता तथा न्यूनतम १०० रुपैयाँ मूल्य राखेर लिलामीको आवेदन दिन सकिने बताइएको छ ।

एनआइबिएल एस क्यापिट, नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा तथा सेन्ट्रल फाइनान्सका शाखाबाट समेत इच्छुकले शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।