काठमाण्डौ । आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा समता लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय अवस्था सन्तोषजनक देखिएको छ।

संस्थाको मंगलबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले खुद नाफा ९९.०१ प्रतिशतले बढाउन सफल भएको छ। यो त्रैमासमा संस्थाले ५ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा २ करोड ५७ लाख रुपैयाँमा सीमित थियो।

यो त्रैमासमा संस्थाले ३ करोड ५५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्ष ३ करोड २५ लाख रुपैयाँ रहेको थियो।

संस्थाले समीक्षा अवधिमा खुद ब्याज आम्दानीबापत १२ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ७ करोड ७ लाख रुपैयाँमा सीमित थियो।

संस्थाले यो त्रैमासमा ८७ करोड ४८ लाख रुपैयाँ सापटी लिई १ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ८० करोड १२ लाख रुपैयाँ सापटी लिई १ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

समीक्षा अवधिमा संस्थाको रिजर्भको आकार ५०.३२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ८ करोड ४२ लाख रुपैयाँ रहेको रिजर्भको आकार बढेर १२ करोड ६६ लाख रुपैयाँको उचाइमा पुगेको छ। 

संस्थाको चुक्तापुँजी १९ करोड ११ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष चुक्तापुँजी ६ करोड ६ लाख रुपैयाँ रहेको छ। 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २६.८६ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) २४.५७ गुणा रहेको छ। प्रतिसेयर नेटवर्थ १६४.१५ रुपैयाँ रहेको छ।