काठमाण्डौ । यामाहा कम्पनीले आफ्नो चर्चित यामाहा एफजेड एफआई र यामाहा एफजेड एसएफआईका ७ हजार ७५७ वटा बाइक बजारबाट फिर्ता मगाएको छ ।

ती बाइकको रियर साइड रिफ्लेक्टरमा समस्या आएपछि कम्पनीले बाइक फिर्ता मगाउने निर्णय गरेको हो । कम्पनीले बाइक फिर्ता गर्न पनि सकिने वा देखिएको समस्या निःशुल्क समाधान गर्ने पनि जनाएको छ । प्रभावित ७ हजार ७५७ बाइक सन् २०१९ अक्टुबरमा उत्पादन गरिएको थियो ।

ग्राहकले फिर्ता गर्न चाहेको खण्डमा बाइकको रिफ्लेक्टर यामाहाको कुनै पनि अधिकृत डिलरबाट बनाउन सक्नेछन् । यसका लागि ग्राहकले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । अर्थात सबै खर्च कम्पनीले नै व्यहोर्नेछ।

कम्पनीले प्रभावित बाइकको मालिकसँग आफैँ सम्पर्क गर्नेछ । कम्पनीको यो कदम ग्राहकको सुुरक्षाप्रतिको जिम्मेवारीमात्रै भएको र यसको बाइकको कार्यदक्षतासँग कुनै सरोकार नरहेको कम्पनीले जनाएको छ ।

कम्पनीले यसै वर्ष एफजेड र एफजेड एस भी३.० को बीएस६ मोडेल लन्च गरेको थियो । दुुवै बाइक सिंगल सिलिन्डर १४९ सीसीका हुुन् । – एजेन्सी