काठमाण्डौ । गैरआवासीय नेपाली(एनआरएनए)हरुको समेत लगानी रहेको सानिमा बैंकले ‘थ्री इन वान खाता’को विज्ञापन गर्ने नाममा झूठको खेती गरेको स्वीकार गरी त्यसमा सुधार गरेको छ । यसबाट केही बैंकहरु सर्वसाधारणमा कसरी भ्रम छरिरहेका छन् भन्ने कुरा पनि पुष्टि भएको छ ।  

बैंकले सो सेवाको विज्ञापनको क्रममा उल्लेख गरेका कैयन झूठहरुलाई सच्याएर पुनः विज्ञापन गर्न थालेको हो । 

‘थ्री इन वान सानिमा खाता’को नाममा ‘नेपालकै पहिलो पटक सेयर खरिद तथा बिक्री अब एक क्लिक टाढा’ भनी बैंकले अनुमति नै नपाएको सेवा प्रवाह गर्ने भन्दै भ्रमपूर्ण विज्ञापन गरी सर्वसाधारणलाई झुक्याउन खोजेको थियो ।

सर्वसाधारणसँगै बैंकले अनुमति नै नपाएको सेवा प्रवाहको विज्ञापन गरी नियामक निकाय र विद्यमान ऐन कानूनको समेत धज्जी उडाएको खबर बिजशालाले प्रकाशन गरेको थियो । बैंकले खुलेआम गैरकानूनी सेवाको बिषयमा लाखौं खर्च गरेर विज्ञापन गरिरहेको विषयको उठान भएपछि नियामकले उसलाई विज्ञापनमा भएको झूठको खेती सच्याउन चेतावनी दिएका थिए ।

नियामकको चेतावनी र बैंक स्वयम्को झूठको खेती पर्दाफास भएसँगै पुरानो विज्ञापनमा उसले सुधार गरेको हो । 

नयाँ विज्ञापनमा के-के भए सुधार ?
पुरानो विज्ञापनमा सानिमाले नेपालमै पहिलोपटक सेयर खरीद तथा बिक्री अब मात्र एक क्लिक टाढा भनी प्रचार गरेको थियो । तर, अहिले सुधार भएर आएको विज्ञापनमा भने नेपालमै पहिलोपटक अनलाइन सेयर खरीद तथा बिक्री भन्ने हेडलाइन राखेर त्यसभन्दा तल लेखिएको छ–‘सानिमा क्यापिटलद्वारा संचालित लगानी व्यवस्थापन सेवा(सानिमा बैंकसँगको सहकार्यमा) ।’

खाताको  विशेषताहरुतर्फ पनि बैंकले पुरानो विज्ञापन सच्याएको छ । पुरानो विज्ञापनमा थ्री इन वान खाताका विशेषतामा लेखिएको थियो:

  • संसारका कुनै पनि स्थानबाट सेयर कारोबार गर्न सकिने
  • बैंक डिम्याट खाताको राफसाफ गर्न कतै धाउनु नपर्ने
  • न्यूनतम शुल्कमा कारोबार गर्न सकिने

नयाँ विज्ञापनमा भने न्यूनतम शुल्कमा कारोबार गर्न सकिने भन्ने बुँदालाई नै हटाइएको छ भने विशेषताहरु भनेर निम्न कुरा राखिएको छः

  • संसारका कुनै पनि स्थानबाट अनलाइन सेयर कारोबार गर्न सकिने
  • सानिमा क्यापिटलले ब्रोकर कम्पनीको सहयोगमा डिम्याट खाताको राफसाफ गरिदिने
  • सानिमा बैंकले बैंक खाताको राफसाफ गरिदिने ।

तर, अन्यौल अझै बाँकी छ.....?
सानिमा बैंक लिमीटेडले सेयर कारोबारसहित एउटै खाताबाट तीनवटा काम गर्न मिल्ने गरी थ्री इन वान खाता लञ्च गरेको देखिन्छ । 

विज्ञापनमा उसले दाबी गरेजस्तो ब्रोकरेज सेवा प्रवाहका लागि यो बैंकलाई कुनै पनि निकायले अनुमति दिएको छैन । नेपाल राष्ट्रबैंकका प्रवक्ता नारायण पौडेलका अनुसार मौद्रिक नीतिमा व्यवस्था भएअनुसार २ वटा बैंकले मात्र ब्रोकर सेवाका लागि दिएको आवेदन मात्र दिएका र कसैलाई पनि यस्तो सेवा प्रवाहका लागि आजको मितिसम्म अनुमति दिइसकिएको छैन । 

अर्कोतर्फ, नेप्सेले सुरु गरेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सीमित ब्रोकरहरुको हातमा मात्र पुगेको र लगानीकर्ताले समेत पूर्ण अनलाइन प्रणालीबाट कारोबार फुकुवा नभइरहेको बेला सानिमाले चाहि कुन आधारमा विज्ञापनमा संसारको कुनै पनि स्थानबाट सेयर कारोबार गर्न मिल्ने भनेको हो ? सर्वसाधारणको भ्रम अझै हट्न सकेको छैन ।

यस्तै, पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको पूर्ण कार्यान्वयनमा देखिएको प्रमुख जटिल विषय हो–राफसाफ तथा फछ्र्यौट । तर, हालसम्म कारोबारको राफसाफ तथा फ्छर्यौट सेवा संचालनका लागि नेप्सेले कुनै पनि बैंक तथा बित्तीय संस्थालाई औपचारिक रुपमा अनुमति दिइसकेको छैन । नयाँ विज्ञापनमा ब्रोकर कम्पनीको सहयोगमा डिम्याट खाताको राफसाफ गरिदिने भनिएको छ । यसबाट आफूले अनुमति नै नलिएको ब्रोकरेज सेवाको झूठो विज्ञापन गरेको बिषय बैंक व्यवस्थापनले स्वीकार गरेको देखिन्छ । 

पुरानो विज्ञापनमा राखिएको अर्को संवेदनशील झूठ थियो–‘न्यूनतम शुल्कमा सेयर कारोबार गर्न सकिने कुरा ।’ तोकिएको कमिसन भन्दा पनि न्यूनतम रकममा भन्ने शब्दले नेप्सेले निर्धारण गरेको कमिसन सिलिङ्गलाई नै ठाडै चुनौति दिएको र यसले कमिसन सम्बन्धी कानूनी व्यवस्थाकै धज्जी उडाएको थियो । यो बुँदा निकै विवादास्पद बनेपछि यसलाई डिलिट नै हान्न बैंक बाध्य बनेको छ ।

सम्बन्धित समाचार:

‘गैरकानूनी सेवा’को भ्रामक विज्ञापन गर्दै सानिमा बैंक, नियामक बेखबर