काठमाण्डौ । साहारा विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को बोनस सेयर सम्बन्धी सूचना सम्प्रेषणमा खेल्न खोजेपछि नेप्सेले स्पष्टीकरण सोध्दै कम्पनीको सूचिकरण स्थगन गरिदिएको छ । 

बिजशालाले सोमबार साहारा विकास बैंकको फट्याई, उसले नेप्सेमाथि नै लगाएको आरोप र नेप्सेको सो विषयमा स्पष्टीकरणको सम्बन्धमा २ वटा समाचार प्रकाशन गरेको थियो । 

यो बैंकको पुस २० गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट २३ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको थियो । सोही निर्णयको बिषयमा नेप्सेलाई जानकारी गराउने क्रममा धितोपत्र सूचिकरण विनियमावली २०७५ को ठाडो उल्लंघन गरेको देखिएको भन्दै सूचिकरण स्थगन गरी २४ घण्टे स्पष्टीकरण सोधेको हो । 

नेप्सेले सो बैंकमाथि सूचिकरण स्थगनका ३ वटा कारण प्रस्तुत गरी स्पष्टीकरण सोधेको छ । 

धितोपत्र सूचिकरण विनियमावली २०७५ को विनियम २२(१)(ङ) मा नगद लाभांश, बोनस सेयर, हकप्रद सेयर वा थप सेयर निश्कासन सम्बन्धी निर्णय भएमा सो निर्णय हुनेबित्तिकै संचालक समितिको बैठक बसेको समय समेत उल्लेख गरी उपलब्ध गराउनुपर्ने व्यवस्था भएकोमा साहाराबाट प्राप्त पत्रमा सो व्यहोरा उल्लेख नभएको भनिएको छ । 

यस्तै, विनियम २२(१) (च) मा खण्ड(ङ) बमोजिमको सूचना जानकारीका साथ लाभांश दिन लागिएको सम्बन्धित आर्थिक वर्ष तथा दाखिल खारेज बन्द मिति, अनुपात तथा सेयर कित्ता वा रकम समेत खुलाउनुपर्ने भन्ने व्यवस्था भएकोमा उक्त व्यहोरा पनि उल्लेख नभएको नेप्सेले प्रष्ट्याएको छ। 

यसैगरी, अनुसूचि ४ मा भएको सम्झौताको बुँदा नम्बर ५ मा संगठित संस्थाले लाभांश, बोनस वा हकप्रद सेयर निश्कासन गर्ने निर्णय गरेमा कुन मितिसम्म कायम रहेको सेयरधनीले त्यस्तो लाभांश, बोनस वा हकप्रद सेयर पाउने हो, सो सम्बन्धी जानकारी त्यस्तो निर्णय हुनेबित्तिकै  वा भोलिपल्ट कारोबार सुरु हुनुअघि नेप्सेलाई दिनुपर्नेछ भन्ने व्यवस्था भए पनि साहाराले पुस २२ गतेको मिति राखी २३ गते मात्र नेप्सेमा पत्र पठाएको र इमेलमार्फत सो सूचना पठाउँदा २२ गते साँझ ६ः४५ः४९ बजे(आइतबार कारोबार समयपछि) मात्र पठाइएको भेटिएको छ ।

यिनै कारण प्रस्तुत गर्दै साहारा विकास बैंकको सूचिकरण स्थगन गरी सो विषयमा कम्पनीको भनाई के छ ? साथै कम्पनी लगायतका पदाधिकारीलाई विद्यमान नियम कानून अनुसार कारबाही किन नगर्ने ?भन्दै २४ घण्टे स्पष्टीकरण सोधिएको नेप्सेको सूचिकरण शाखाले जनाएको छ । 

बैंकका सीइओको यस्तो आरोप
तर, बैंक व्यवस्थापनले भने बिजशालासँग कुरा गर्दै आफूहरुबाट सूचना सम्प्रेषणमा कुनै कमजोरी नभएको दाबी गरेको थियो ।  

बैंकका प्रमुख कार्यकारी अधिकृत बिनयकुमार साहले बिजशालासँग कुरा गर्दै शुक्रबार साँझ संचालक समितिको बैठक बसेकोले आइतबार समयमै नेप्सेलाई जानकारी गराइएको दाबी गरेका थिए ।

तर, अन्ततः उनको दाबी सही नभएको खुलेको छ । 

उनले ढिलोगरी लाभांशको निर्णय प्रकाशित भएको बिषयमा बिजशालासँग कुरा गर्दै भनेका थिए–‘आइतबार हामीले समयमै नेप्सेलाई बोनस सेयर वितरणको निर्णयको बिषयमा जानकारी गराएका थियौं । तर त्यो सूचना सोमबार(आज) मात्र किन प्रकाशित भयो, हामीलाई थाहा भएन ।’ तर उनको यो दाबी झूठो प्रमाणित भएको छ । 

धितोपत्र सूचिकरण नियमावलीले सूचिकृत कम्पनीहरुको हकमा सूचना सम्प्रेषण गर्दा अरु के के व्यवस्था गरेको छ ? विस्तृत पढ्न चाहनुहुन्छ भने नियमावली यस्तो छः