काठमाण्डौ । दोश्रो बजारमा प्रति कित्ता २२०० रुपैयाँमा कारोबार भइरहेको सेयर १ सय रुपैयाँमै पाइयो भने तपाई उफ्रिनुहुुन्न ? हो, समीट माइक्रो फाइनान्सका सेयरधनीलाई यस्तै अवसर खुल्दैछ। 

यो माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक लिमीटेडले आगामी भदौ २९ गतेदेखि आफ्ना सेयरधनीका लागि १ बराबर १ को अनुपातमा हकप्रदको बिक्री खुल्ला गर्ने भएको छ । 

सेयरधनीले हकप्रद भर्दा प्रति कित्ता अंकित मूल्य अर्थात १ सय रुपैयाँ मात्र तिर्नुपर्छ । दोश्रो बजारमा २२०० रुपैयाँ प्रतिकित्तामा कारोबार भइरहेको कम्पनीको सेयर १ सय रुपैयाँमै पाउने निकै राम्रो अवसर नगुमाएकै राम्रो । 

यो माइक्रो फाइनान्स कम्पनीले १ सय रुपैयाँ अंकित दरका कुल ७ लाख २५ हजार कित्ता हकप्रद बिक्री गर्न लागेको हो । 

बिहीबार एक सूचना प्रकाशित गर्दै समीट माइक्रो फाइनान्सको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको सानिमा क्यापिटलले कात्तिक १ गतेसम्म इच्छुक सेयरधनीले तोकिएका स्थानमा गएर हकप्रद खरीदका लागि आवेदन दिनसक्ने जनाएको छ । 

झापाको बिर्तामोडमा मूख्य कार्यालय रहेको यो माइक्रो फाइनान्स कम्पनीको हाल चुक्तापूँजी ७ करोड २५ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि १४ करोड ५० लाख चुक्तापूँजी हुनेछ । समीटको अधिकृत पूँजी २० करोड छ भने जारी पूँजी १४ करोड ५० लाख रहेको छ । 

यो माइक्रो फाइनान्स कम्पनीमा संस्थापकहरुको ७० र सर्वसाधारण सेयरधनीको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ । 

यो माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७३/७४ मा ५ करोड बढी खूद नाफा आर्जन गरेको थियो । यो अवधिमा प्रतिसेय आम्दानी ६९.१० रुपैयाँ रहेको छ । 

कहाँबाट दिने आवेदन ?
यो माइक्रो फाइनान्स कम्पनीको हकप्रद सेयरका लागि काठमाण्डौको नक्साल, नारायणचौरस्थित सानिमा क्यापिटलको मुख्य कार्याल्य, समीट माइक्रो फाइनान्सका पूर्वका विभिन्न जिल्लामा छरिएर रहेका शाखा कार्यालयहरु
तथा सानिमा बैंक लिमीटेडको धनगढी, नेपालगञ्ज, पोखरा, भैरहवा, नारायणगढ, वीरगञ्ज  र जनकपुर शाखाबाट समेत हकप्रदका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ ।