काठमाण्डौ । झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको समीट लघुवित्त वित्तीय संस्था लिमीटेड र सजिलो लघुवित्त वित्तीय संस्था लिमीटेडबीच मर्जरको सम्झौता भएको छ । 

दश वर्षअघिदेखि पूर्वी नेपालमा संचालनमा रहेको समीट र गोरखामा मुख्य कार्यालय रही हालैबाट संचालनमा आएको सजिलो लघुवित्तबीच १ः१ को सेयर स्वाप अनुपातमा मर्जरमा जाने प्रारम्भिक सहमति भएको हो । 

यी दुई लघुवित्त मर्जर भई बन्ने नयाँ संस्थाको नाम समीट लघुवित्त वित्तीय संस्था लिमीटेड रहने सहमति भएको समीट लघुवित्तका सीइओ देवेन्द्रबहादुर बस्नेतले जानकारी दिए । 

उनका अनुसार नाम, लोगो र दर्ता नम्बर समीट लघुवित्तकै कायम रहनेछ । यस्तै, मर्जरपछि बन्ने संस्थाको संचालक समिति अध्यक्ष समीटको तर्फबाट हुनेछ भने संचालकहरुमा २ जना समीटको तर्फबाट र ३ जना सजिलोको तर्फबाट आउनेछन् । 

प्रमुख कार्यकारी अधिकृतको रुपमा समीटकै सीइओ बस्नेतले एकीकृत संस्थाको व्यवस्थापन सम्हाल्न पाउनेछन् । 

समीट लघुवित्त १५ जिल्लामा काम गरिरहेको वित्तीय संस्था हो भने सजिलो राष्ट्रियस्तरको लघुवित्त हो । समीटले पुस २९ गते वार्षिक साधारणसभाबाट बोनस सेयर पारित गरिसकेकोले चुक्तापूँजी २५ करोड ४३ लाख पुगेको छ भने सजिलोको चुक्तापूँजी १४ करोड रुपैयाँ रहेको छ । सजिलोको जारी पूँजी २० करोड रहे पनि यसले आइपीओ निश्कासन गरिसकेको छैन । 

यसैबीच, नेप्सेले सजिलोसँग मर्जर सम्झौता गरेको समीटको सेयर कारोबार रोक्का गरेको सूचना प्रकाशित गरेको छ ।