काठमाण्डौ । बिमा कम्पनीहरुको शेयरले दोश्रो बजारमा होल्ड कायमै राख्ने क्रम सोमबार पनि जारी रह्यो । साताको दोश्रो दिन बिमा, विकास बैंक र होटल समूहको सूचकमा देखिएको उछालका कारण नेप्से परिसूचक ७.४० अंकले उकालो लागी १४६१.७५ को नयाँ विन्दूमा पुगेको छ । 

आइतबार नेप्से दोहोरो अंकले बढेर १४५४.२६ अंकको नयाँ उचाईमा पुगेको थियो । सोमबार १ सय ३१ कम्पनीका १५ लाख ६४ हजार कित्ता शेयर किनबेच भएका छन् । ४ हजार १ सय ४७ वटा कारोबारबाट बजारमा ९२ करोड ८२ लाख पूँजी परिचालन भयो । 

सोमबार पनि बिमा समूहको सूचक दोहोरो अंकले उकालो लाग्यो । विगत केही दिनदेखि यो समूहको सूचकको बजारमा नियमित बोलवाला चलिरहेको छ । सोमबार विमा समूह २३.७१ अंकले उक्लियो । विकास समूहको सूचक पनि २२.५९ अंकले बढ्यो । होटल समूहको सूचक १५.११ अंकले बढ्दा बैकिंग समूहको सूचकमा ७.६५ अंकको बढोत्तरी भयो । 

हाइड्रोपावर, फाइनान्स र अन्य समूहको सूचक भने ओरालो लाग्यो । यी तीन समूहको सूचक क्रमशः ९.५८, २.८२ र १.१७ अंकले ओरालो लाग्यो । 

फाइनान्स समूहको समग्र सूचक रातो भए पनि मञ्जुश्री फाइनान्सका शेयरधनी मालामाल भए । यो कम्पनीको मात्र १ लाख ८१ हजार बढी कित्ता शेयर कारोबार भयो । यस्तै ग्लोबल आइएमई बैंकको १ लाख १६ हजार कित्ता शेयर किनबेच भयो । सोमबार सबैभन्दा बढी कमाउने १० कम्पनीमध्ये ८ कम्पनी विकास बैंक नै रहे । 

सेन्सेटिभ इण्डेक्स र फ्लट इण्डेक्स क्रमशः १.६५ र ०.७२ अंकले उकालो लागे ।