काठमाण्डौ । बिहीबार नेपाल स्टक एक्सचेञ्जको वेबसाइट बिग्रिएर करिब २ घण्टा १५ मिनेट खुलेको पूँजीबजारमा हालसम्मकै सबैभन्दा बढी रकमको शेयर किनबेच भएको छ । 

बैकिङ समूहको सूचक ओरालो लागे पनि बजारमा बैंकहरुकै दबदबा कायम भयो । बिमाको सूचकले बिहीबार पनि समग्र बजारका समूहहरुलाई लिड गर्यो । बजारमा १ अर्ब १८ करोड १५ लाख बराबरको शेयर किनबेच हुँदा नेप्से परिसूचक ०.७६ अंकको झिनो वृद्धिमा सीमित रह्यो । एकसय ३६ कम्पनीको १६ लाख ९४ हजार कित्ता शेयर छोटो समयमै किनबेच भएको हो । 

बिहीबार वाणिज्य बैंक, विकास बैंक र होटल समूहको परिसूचक ओरालो लाग्यो । यी तीन समूहको परिसूचक क्रमशः २.११, २१.६३ र ५.१९ अंकले तल झर्यो । बाँकी सबै समूहको सूचक हरियो भयो । 

बिहीबार सबैभन्दा बढी बिमा समूहको सूचक ५७.९४ अंकले उक्लियो । जलविद्युत समूह ११.५९ अंकले उकालो लाग्दा बित्त र अन्य समूह क्रमशः ३.९८ र ३.५३ अंकले उकालो लागे । 

२ घण्टा १५ मिनेटको छोटो समयमा समेत एनआइसी एशिया बैंकको १३ करोड २६ लाख मूल्य बराबरको शेयर किनबेच भयो । नेपाल बैंक लिमीटेडको ६ करोड ६६ लाख, नेपाल बंगलादेश बैंकको ६ करोड २३ लाखको शेयर खरीदबिक्री भयो ।