काठमाण्डौ । सरकारको तीव्र आलोचना भई प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीका करिब ४ दर्जन नेताले दवाब दिएपछि नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले अन्ततः राजीनामा दिनुपरेको छ ।

झाको सर्वत्र आलोचनासँगै उनको नियुक्तिको बिषयलाई लिएर प्रधानमन्त्री, संचारमन्त्री र सरकारकै कडा आलोचना भएपछि झा राजीनामा गर्न बाध्य भएका हुन् । 

उनले बुधबार आफ्नो पदबाट दिएको राजीनामा पत्र सूचना तथा संचारमन्त्री गोकुल बास्कोटालाई बुझाएका छन् ।

ओली नेतृत्वको सरकारले कार्यसम्पादनमा असफल देखिएको र उनको नेतृत्वमा प्राधिकरण भ्रष्टाचारले गन्हाएको भन्दै उनलाई हटाउने निर्णय गरेको थियो । तर, रातारातको चलखेलपछि यही सरकारले उनलाई प्राधिकरणको अध्यक्षमा पुनः नियुक्ति दिएको थियो । पुनः नियुक्ति पाएको करिब ४ महिनापछि उनले राजीनामा दिएका हुन् ।

झाको नियुक्तिको विषयमा सत्तारुढ दलका करिब ४ दर्जन नेताले भ्रष्ट छविका उनलाई तत्काल पदबाट हटाउन र सरकारको छवि जोगाउन लिखित आग्रह नै गरेका थिए । नेताहरुबाट लिखित माग नै आएपछि सरकार नैतिक संकटमा परेको थियो । यसैले प्रधानमन्त्रीकै निर्देशनमा उनले राजीनामा दिएका बताइएको छ ।