काठमाण्डौ । आर्थिक वर्ष २०७४/७५ को एघार महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट घाटा रु.१७७ अर्ब ८२ करोड पुगेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.१२ अर्ब ६५ करोड रहेको थियो । 

समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च रु.८३२ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.५५५ अर्ब १० करोड रहेको थियो । 

समीक्षा अवधिमा चालू खर्च रु.६०७ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.३९४ अर्ब ५१ करोड रहेको थियो । 

समीक्षा अवधिमा पुँजीगत खर्च ४०.१ प्रतिशतले बढेर रु.१५१ अर्ब ८८ करोड भएको छ । अघिल्लो वर्ष यस्तो खर्च ९४.५ प्रतिशतले बढेर रु.१०८ अर्ब ४३ करोड भएको थियो ।

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व संकलन १८.७ प्रतिशतले वृद्धि भई रु.६२५ अर्ब ७७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व ३३.१ प्रतिशतले वृद्धि भई रु.५२७ अर्ब १४ करोड पुगेको थियो । 

सरकारको नगद मौज्दात २०७५ जेठ मसान्तसम्ममा सरकारी ढुकुटीमा रु.२४८ अर्ब ४८ करोड (स्थानीय तहको खातामा जम्मा भएको रकम रु.१०३ अर्ब ७७ करोड समेत) कायम रहेको छ ।