काठमाण्डौ । सरकारले दैनिक रुपमा आयात हुने सुनको कोटालाई आधा घटाइदिएको छ । 

मन्त्रीपरिषदको बैठकले आइतबार पारित गरेको राहात प्याकेज अन्तरगत सुनको दैनिक कोटामा कटौति भएको हो । 

साबिकमा दैनिक २० केजी रहेको सुनको कोटा घटाएर १० केजीमा झारिएको छ । 

सुनचाँदी व्यवसायीहरुले लामो समयदेखि दैनिक सुन आयातको कोटा बढाउने माग गरिरहेका थिए । तर, सरकारले भने विदेशी मुद्राको सञ्चितीमा पर्नसक्ने चाप न्यूनिकरणका लागि सुन पैठारीको दैनिक कोटा आधा घटाइदिएको हो । 

नेपाल राष्ट्र बैकले वाणिज्य बैंकहरूलाई मात्रै सुन आयातको अनुमति दिएको छ। बैंकहरुले आयात गरेको सुन नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको सिफारिसमा बजारमा बिक्री गरिन्छ।

व्यवसायीले नेपाली बजारमा सुनको दैनिक माग २५ केजी हाराहारीमा हुने गरेको दाबी गर्छन् । तर, पछिल्लो समय अचाक्ली मूल्य बढेको बेला बिक्री न्यून थियो । लकडाउनका कारण अहिले देशका सुनपसलहरु बन्दै अवस्थामा छन् । 

सुनचाँदी व्यवसाय समेत ठप्प रहेको अवस्थालाई समेत मध्यनजर गरी सरकारले सुनको कोटा घटाउने निर्णय गरेको अर्थका अधिकारीहरु बताउँछन् । 

त्यसो त सरकारले विदेशी मुद्रा सञ्चितीमा बढी चाप पर्न नदिनकै लागि ५० हजार डलर भन्दा महंगा मूल्यका सवारी साधनमा समेत रोक लगाउने निर्णय गरेको छ । 

मदिराको आयात समेत रोकिएको छ भने मरिच, छोकडा, केराउको आयातमा समेत प्रतिबन्ध लगाइएको छ ।