काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार आर्थिक वर्ष ०७४/७५ को नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने भएकी छिन् । 

आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो । सरकारको निर्णयपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपतिसँग छलफल गर्न शीतलनिवास पुगेका थिए । 

राष्ट्रपतिले सोमबार दिउँसो १ बजे संसद्को अधिवेशन आह्वान गरिसकेकी छिन् । राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका आधारमा सरकारले १५ जेठमा बजेट प्रस्तुत गर्दै छ । सरकारले तयार गरेको दस्ताबेज राष्ट्रपतिले स्वीकृत गरेर संसद्को बैठकमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । 

राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले ११ जेठमा राष्ट्रपतिले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको बताए । 

के–के छन् कार्यक्रममा ? 
सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीका अनुसार राष्ट्रिय महत्वका सबै ठूला परियोजना कार्यक्रममा समावेश गरिएको छ । 

यसैगरी, दोस्रो चरणको स्थानीय निर्वाचन, प्रान्त र संघीय संसद्को निर्वाचनका लागि बजेटको व्यवस्था पनि नीति तथा कार्यक्रममा गरिएको छ । सरकारले आंशिक बजेट ल्याउने तयारी गरिरहँदा नीति तथा कार्यक्रम पनि त्यहीअनुसारको छ । ‘नीति तथा कार्यक्रम संविधान कार्यान्वयनमा साथै राष्ट्रिय परियोजना र राष्ट्रिय पुनर्संरचनालाई तीव्रता दिनेतर्फ केन्द्रित छ,’ कार्कीले मन्त्रिपरिषद् बैठकपछि भने । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।