काठमाण्डौ । नेपाल सरकारको बजेट घाटा उच्च रहेको छ । 

आर्थिक वर्ष २०७४/७५ को छ महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट रु. ३५ अर्ब ४७ करोडले घाटामा रहेको देखिएको हो । 

अघिल्लो वर्षको सोही अवधिमा सरकारको बजेट रु. ४० अर्ब २२ करोडले बचतमा रहेको थियो । सरकारी खर्च समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च रु. ३६४ अर्ब ९५ करोड पुगेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु. २४८ अर्ब २० करोड रहेको थियो । समीक्षा अवधिमा चालू खर्च रु. ३०३ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु. १९६ अर्ब ४७ करोड रहेको थियो । समीक्षा अवधिमा पूँजीगत खर्च ३८ प्रतिशतले बढेर रु. ४२ अर्ब ७२ करोड भएको छ । अघिल्लो वर्ष यस्तो खर्च रु. ३० अर्ब ९७ करोड भएको थियो । 

यसैबीच, समीक्षा अवधिमा नेपाल सरकारको कुल राजश्व सङ्कलन २०.७ प्रतिशतले वृद्धि भई रु. ३३५ अर्ब १० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजश्व ६८.९ प्रतिशतले वृद्धि भई रु. २७७ अर्ब ५७ करोड पुगेको थियो । 

समीक्षा अवधिमा सरकारले ३३४ अर्ब १४ करोड राजस्व सङ्कलनको लक्ष्य हासिल गरेको छ । नेपाल सरकारको राजश्व सङ्कलन उच्च भन्सार शुल्क सम्बन्धित आयातसँग सम्वेदनशील रहदैं आएको छ । 

सरकारको नगद मौज्दात स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून भएकोले २०७४ पुस मसान्तसम्ममा सरकारी ढुकुटीमा (स्थानीय तहको खातामा जम्मा भएको रकम रु. ९३ अर्ब ५ करोड समेत) रु. ३०३ अर्ब १७ करोड नगद मौज्दात कायम रहेको छ ।

निक्षेप संकलन
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ६.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ७.२ प्रतिशतले बढेको थियो । 

वार्षिक बिन्दुगत आधारमा २०७४ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १३.७ प्रतिशतले बढेको छ । २०७४ पुसमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.४ प्रतिशत, ३६.४ प्रतिशत र ४२.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.२ प्रतिशत, ४२.१ प्रतिशत र ३२.८ प्रतिशत रहेको थियो । 

२०७४ पुसमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो निक्षेपको अंश ४७.६ प्रतिशत रहेको थियो । कर्जा प्रवाह समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.९ प्रतिशतले बढेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १२.९ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ११.५ प्रतिशत, विकास बैंकहरुको १६.६ प्रतिशत र वित्त कम्पनीहरुको ४.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७४ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १७.२ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.३ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.५ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.६ प्रतिशत र १४.३ प्रतिशत रहेको थियो । 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ५०.५ प्रतिशत (रु.३२ अर्ब ६१ करोड) ले वृद्धि भई रु. ९७ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ६.४ प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज कर्जा ७.० प्रतिशतले तथा ओभरड्राफ्ट कर्जा ९.६ प्रतिशतले बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ९.५ प्रतिशतले बढेको छ ।