काठमाण्डौ । नेपाल उद्योग परिसंघले सरकारबाट उद्योग, आर्थिक एवम् बैंकिङ व्यवसाय गर्नेहरुको मनोबल गिराउने काम भएको भन्दै चिन्ता व्यक्त गरेको छ । 

बैंक अफ काठमाण्डू लिमीटेडका तत्कालीन सीइओ अजय श्रेष्ठ लगायतलाई बैंकिङ कसूरको अभियोगमा हिरासतमा लिइएको घटनातर्फ संकेत गर्दै परिसंघले एक विज्ञप्तिमार्फत यो घटनामा सुरक्षा निकायले चालेको कदमले आगामी दिनमा बैंकहरुबाट ऋण प्रवाहमा गम्भीर प्रभाव पर्नसक्ने र समग्र अर्थतन्त्रमै प्रतिकूल प्रभाव पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेको हो । 

‘आर्थिक, उद्योग, बैकिङ्गव्यवसाय एक अर्काका परिपूरक भएको यथार्थतामा एउटा क्षेत्रमा पर्न जाने अप्ठेराले एक अर्को क्षेत्र समेत प्रभावित हुने हुँदा सरकारबाट उद्योग, आर्थिक एवं बैकिङ्ग व्यवसायको मनोवल बढाउने गरी यी क्षेत्रमा कार्यरत उद्योगी व्यवसायी तथा यस क्षेत्रमा कार्यरत व्यवसायीक व्यक्तित्वहरुको मनोवल बढाउने वातावरणको सुनिश्चितता कायम गर्न परिसंघ सरकारमा आग्रह गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ–‘वित्तीय क्षेत्रमा हालै विकसित घटनाक्रमहरुले बैंक तथा वित्तीय संस्थामा आवद्ध सम्पूर्ण जनशक्ति चिन्तित भएकोले यसले आगामी दिनमा ऋण प्रवाहमा पर्न सक्ने असर तथा समग्र अर्थतन्त्रमा नै प्रतिकूल प्रभाव पर्नसक्ने कुरालाई मनन गर्दै सो समस्या निरुपणमा सम्बन्धित निकायबाट सकारात्मक रुपमा सामाधानका लागि आवश्यक पहल गर्नेमा हामी विश्वस्त रहेका छौं ।’

सरकारले आर्थिक, उद्योग, बैंकिङ्ग ऐन आदि क्षेत्रमा कानूनको नीतिगत व्यवस्था एवम् प्रक्रियागत सुधारमा देखाएको चासोप्रति निजी क्षेत्र उत्साहित भए पनि केही समययतादेखि उद्योग, आर्थिक एवम् बैँकिङ्ग व्यवसायलगायतका क्षेत्रमा विभिन्न अव्यवहारिक बाध्यात्मकता व्यवस्था भएको समेत दाबी गरिएको छ ।

‘यसले एकातिर व्यवसाय सञ्चालन महङ्गो हुनगएको छ भने अर्कोतिर बैंकिङ्ग क्षेत्रमा जे–जस्ता घटनाक्रम विकसितभएका छन् त्यसप्रति परिसंघ लगायत सम्बन्धित क्षेत्रको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा अगाडि भनिएको छ ।