काठमाण्डौ । कोरोना भाइरसको त्रासले अर्थतन्त्र डामाडोल बन्दै गएपछि र यसले पर्यटन क्षेत्र सबैभन्दा नराम्ररी प्रभावित भएको विश्लेषणसहित सरकारले भ्रमण वर्ष २०२० खारेजीको औपचारिक निर्णय गरेको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीले भम्रण वर्ष खारेजीको औपचारिक निर्णय भएको पुष्टि गरेका हुन् । 

सरकारले कोरोना भाइरस विश्वभर प्रभाव पर्न थालेको र यसबाट नेपाल समेत अछुतो नहुने भन्दै फागुन १८ गते  भ्रमण वर्ष स्थगनको निर्णय गरेको थियो । तर, अब भने भ्रमण वर्ष नै खारेजीको औपचारिक निर्णय गरिएको हो । 

सरकारले बैशाख १ गतेदेखि भ्रमण वर्ष सफल पार्न गठित सचिवालय पनि विघटनको निर्णय गरेको छ । भ्रमण वर्षलाई सफल बनाउन उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यको अध्यक्षमा सचिवालय गठन गरिएको थियो । 

भ्रमण वर्षका लागि सरकारले ६५ करोड बजेट विनियोजन गरेको थियो । सचिवालयले भ्रमण वर्षको नाममा २० करोड रुपैयाँ खर्च गरिसकेको छ । सचिवालयबाट सरकारले बैशाखअघि नै हिसाबकिताब मिलान गरी कागजात समेत जिम्मा लगाउन निर्देशन दिएको छ । 

भ्रमण वर्ष सफल पार्नका लागि गठिन समितिमा २२ कर्मचारी कार्यरत थिए । 

नागपोखरीस्थित एक निजी घरमा राखिएको सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठले हालसम्म गरेका कामसहितको प्रतिवेदन मन्त्रालयलाई बुझाउने र भौतिक सामाग्री पर्यटन बोर्डमा दिइने बताए।