काठमाडौँ । संघीय समाजवादी फोरमले सरकारमा सहभागी हुने निर्णय गरेको छ । 

पार्टीको आज बसेको वैठकले संविधान संशोधनको विषयलाई सरकारले अपनत्व ग्रहण गरेको निष्कर्ष निकाल्दै सरकारमा जाने प्रस्तावलाई अनुमोदन गरेको पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 

संविधान संशोधनमा सरकार सकारात्मक भएको आधारमा फोरमले लामो समयदेखि संविधान संशोधनका लागि गरेको सडक संघर्षको परिणाम स्वरुप अहिले वैचारिक रुपमा राजनीतिक सफलता प्राप्त भएको ठहर फोरमले गरेको छ । 

उहाँका अनुसार सरकारको नीति तथा कार्यक्रम र मन्त्रालयको बाडफाडका विषयमा भने नेकपा  (एमाले) र नेकपा (माओवादी केन्द) सँग छलफल हुने छ ।  पार्टीले सरकार तथा दुबै दलका शीर्ष नेतासँग केही दिनदेखि अनौपचारिक रुपमा वार्ता गरीरहेको थियो । सो दलको प्रतिनिधिसभामा १७ जना सांसद रहेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बाम गठबन्धनको सरकार यही फागुन ३ गते गठन भएको थियो ।