काठमाण्डौ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगको बैठकले देशमा तीव्र रुपमा बढेको बलात्कार, हत्या र बोक्सी आरोपीजस्ता जघन्य सामाजिक अपराधमा सरकारी निकायको ध्यान नगएको र यस्ता घटनामा पार्टीका स्थानीय कमिटीहरु पनि मूकदर्शक बनेका भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । 

आयोगको मंगलबार बसेको बैठकले पार्टीको केन्द्रदेखि स्थानीय तहसम्मको पंक्ति राजनीतिक र वैचारिक दृष्टिकोणबाट बिमुख बन्दै गएको संकेत त होइन ? भन्ने गम्भीर प्रश्न समेत उठाएको छ । 

बैठकपछि आयोग अध्यक्ष अमृतकुमार बोहोराले जारी गरेको विज्ञप्तिमा आफ्नै पार्टीको सरकार र आफ्नै नेता तथा कार्यकर्ताको कार्यशैलीप्रति गम्भीर आशंकायुक्त प्रश्न उठाइएको छ । 

जघन्य सामाजिक अपराधका श्रृंखला बढिरहेकोमा त्यसलाई नियन्त्रण गर्न सम्बन्धित सरकारी निकायको ध्यान तदारुकतासाथ गएको छैन भने वर्गीय र सामुदायिक सरोकारको विषयमा आवाज बुलन्द गर्नुपर्ने पार्टीका स्थानीय कमिटीहरु, अनेमसंघ, युवा संघ लगायत पार्टीका जनसंगठनहरु तथा जनप्रतिनिधिमूलक निकाय स्थानीय सरकार किन उदासिन निस्क्रिय र मूकदर्शक बनिरहेका छन् । विज्ञप्तिमा भनिएको छ –कतै पार्टीपंक्तिहरु राजनीतिक र वैचारिक दृष्टिकोणबाट बिमुख बन्दै गरेको संकेत त होइन भन्दै बैठक पार्टी नेतृत्वप्रति यस्ता विषयहरुमा सचेत हुन गम्भीर ध्यानाकर्षण गर्दछ ।

बैठकले पार्टीको संगठनात्मक अवस्था कमजोर बनेको र नेता तथा कार्यकर्ता स्वेच्छाचारी, अनुशासनहीन र आचरणहीन बन्दै गएका गम्भीर आरोप समेत लगाएको छ । ‘लामो समयदेखि पार्टीको केन्द्रदेखि आधारभूत तहसम्मका कमिटीका बैठकहरु राम्ररी नभएको, पार्टी कमिटीहरु प्राय निस्क्रिय रहेको, पार्टीको विधि, पद्धति र प्रणालीहरु क्रमशः कमजोर बन्दै गएको, पार्टीमा स्वच्छन्दता, व्यक्तिवाद, आचरणहीनता र अनुशासनहीनता बढेको, गलत कार्यउपर छानविन नगरी दण्डहिनता मौलाइरहेको वर्तमान स्थितिप्रति आयोगले पार्टीको ध्यानाकर्षण गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ–‘त्यसैगरी तीनै तहको निर्वाचनका क्रममा भएका अनुशासनहीन क्रियाकलापहरु, घात–अन्तरघातजस्ता अवाञ्छित कार्यहरुको यथासमयमा छानविन भई कारवाही हुनुपर्नेमा अनेकौं बहानामा आजसम्म पन्छाउँदै आउने काम भएकाले तत्काल समीक्षा प्रतिवेदन मागी कारवाही प्रक्रिया अघि बढाउन पार्टी नेतृत्वको ध्यानाकर्षण गरेको छ ।’

आयोगले सरकारलाई पूर्णता दिने बिषयमा ढिलाई भएको उल्लेख गर्दै अविलम्ब काम अगाडि बढाउन समेत आग्रह गरेको छ ।