काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञहरुसँग आज छलफल गरेका छन् । 

प्रम ओलीले कोरोना भाइरसको जोखिम देशभर बढिरहेको बेला संक्रमण विस्तारलाई नियन्त्रण गर्नका लागि चाल्न सकिने आवश्यक कदमको विषयमा विज्ञहरुलाई बोलाएर परामर्श गरेका हुन् । 

छलफलमा सहभागी विज्ञहरुले लकडाउन कडाई गर्ने, २१ दिन नै तोकेर कफ्र्यू लगाउने वा संक्रमण बढेका स्थानमा सिल्ड गर्ने र नागरिक उत्तरदायीत्व बढाउने जस्ता मिश्रित सुझाव आएका प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

उनका अनुसार विज्ञहरुले अस्पतालमा पूर्वाधार बढाउन, आइसियू र भेन्टिलेटरको उपलब्ध बढाउने सुझाव समेत दिएका छन् । 

प्रधानमन्त्रीले सुझावहरु ग्रहण गरी आवश्यक र जायज सुझावहरु कार्यान्वयन गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थापाले उल्लेख गरेका छन् । 

सरकारले ती सुझावहरुलाई कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी, स्वास्थ्य मन्त्रालय लगायतका निकायमा लगी वृहत छलफल गरी एकदुई दिनमै आवश्यक निर्णय गर्ने बताइएको छ ।