काठमाण्डौ । आरडिटी परीक्षणमा नेगेटिभ देखिएपछि घर फर्किएका सुर्खेतका एक युवकको कोरोनाबाट मृत्यु भएको आधिकारिक पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयले सुर्खेत पञ्चपुरी स्थायी घर भएका ती २८ वर्षीय युवकको कोरोनाको संक्रमणबाटै मृत्यु भएको पुष्टि गरेको हो । 

ती युवक जेठ ८ गते भारतबाट स्वदेश फर्किएका थिए । उनी स्थानीय क्वारेन्टाइनमा १४ दिनसम्म बसेका थिए । १४ दिनपछि उनको आरडिटी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि निको भएको भन्दै घर पठाइएको थियो । 

जेठ २२ गते घर पुगेका उनको सोही साँझ सास फेर्न गाह्रो भई हठात मृत्यु भएको थियो । मृत्युपछि ती युवकको स्वाब निकाली पीसीआर विधिबाट परीक्षण गर्दा भने रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । 

यसरी नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ११ पुगेको छ । 

नेपालमा कोरोनाको संक्रमण सुरु भएदेखि नै आरडिटी परीक्षण भरपर्दो नभएको भन्दै यो बन्द गरी पीसीआरमै जोड दिनुपर्ने आवाज उठे पनि सरकारले कुरा सुनेको छैन । 

संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त आरडिटी परीक्षण भरपर्दो नहुने भन्दै यसबाट भइरहेका परीक्षण रोक्न भनेको थियो । तर, पनि सरकारले कुरा सुनेन् । 

सरकारका मन्त्री तथा विभागका अधिकारीहरु आरडिटी परीक्षणको किट खरीदमा आउने मोटो कमिसनमा लिप्त बन्दा नागरिकको ज्यान जोखिममा परेको चर्चा भइरहेको बेला आरडिटीको रिपोर्टमा भर परेकै कारण सुर्खेतका ती युवकले ज्यान गुमाएका हुन् ।