काठमाण्डौ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा जागिरको निकै ठूलो अवसर आउने भएको छ । व्यवस्थापन, अर्थशास्त्र पढेर बेरोजगार रहेकाहरुले यो बैंकमा आकर्षक जागिरको अवसर पाउने भएका हुन् । 

बैंकले आउँदो बर्षभित्रमा कम्तीमा ९ सय ६० फ्रेस कर्मचारी भर्ना गर्ने योजना बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताएका छन् । 

बिजशालासँगको विशेष कुराकानीमा उनले यो वर्ष ४ सय ६० कर्मचारी भर्नाको प्रक्रिया अगाडि बढेको उल्लेख गर्दै भने–‘अहिले पनि हामीले ४ सय ६० जना कर्मचारी भर्नाको विज्ञापन गरिसकेका छौ । त्योमध्ये १ सय ९५ जनाको लिखित परीक्षा भई रिजल्ट भइसकेको छ, उनीहरुले असारभित्रै आफ्नो जिम्मेवारी सम्हाल्नेछन् । बाँकीलाई आगामी भदौसम्म भर्ना गरिसकिनेछ । यसरी हेर्दा ४ सय ६० कर्मचारी भदौभित्रमा आइसक्छन् । आगामी वर्षभित्र हामीले सहायक स्तरदेखि अधिकृतसम्म न्यूनतम थप ५ सय कर्मचारी भर्ना गर्दैछौ । यसरी हेर्यौं भने २ वर्षको अवधिमा हामीले ९ सय ६० कर्मचारी भर्ना गर्नेछौ ।’

यस्तै, पछिल्लो समय राष्ट्रिय वाणिज्य बैंकका लागि कर्मचारीलाई पेन्सनको व्यवस्थापन निकै ठूलो चुनौति बनिरहेको छ । पेन्सनधारी कर्मचारीहरुलाई गोल्डेन ह्याण्ड्सचेकको निकै ठूलो अफर ल्याउने बिषयमा समेत बैंकले अध्ययन थालेको श्रेष्ठले खुलासा गरेका छन् । ‘पेन्सनलाई दीर्घकालीन दायीत्व भन्दा पनि कुन तरिकाले कर्मचारीहरुले पेन्सन भन्दा अन्य विकल्प रोज्छन् र पेन्सन लिइरहेका कर्मचारीहरुलाइ पनि कुन मोडालिटीबाट एकमुुष्ट रुपले पेमेन्ट गर्यो भने लामो समयको दायीत्वबाट संस्थालाई जोगाउन सकिन्छ भनेर हामीले अध्ययन थालिरहेका छौ ।’ उनले भने–‘हामी विन–विनको पोजिशनमा केही काम गर्न सकिन्छ कि भनेर सोचिरहेका छौ ।’ 

(अन्तर्वार्ताको पूरा अंश पढ्न यहाँ क्लिक गर्नुहोस् ।)