काठमाण्डौ । सरकारको स्वामित्व रहेका तीनवटा बैंकबीच ‘बिग मर्जर’को विषयमा छलफल सुरु भएको छ । 

नेपाल राष्ट्रबैंकले बैंकहरुलाई बोलाएर उपयुक्त मर्जर पार्टनरसहित एकसाताभित्र लिखित प्रतिबद्धतापत्र पठाउन निर्देशन दिएसँगै निजी क्षेत्रका बैंकहरु झै सरकारी स्वामित्वका तीन बैंक समेत मर्जरको छलफलमा जुटेका हुन् । 

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र सरकारी स्वामित्व रहेका कृषि विकास बैंक तथा नेपाल बैंक लिमीटेडको उच्च व्यवस्थापन र संचालकहरुबीच सोमबार केही घण्टा छलफल भएको हो ।

भद्रकालीस्थित राष्ट्रिय वाणिज्य बैंकमा तीनवटै बैंकका व्यवस्थापन प्रमुख र संचालकहरुबीच निकै लामो छलफल चलेको हो । 

तीनवटै बैंकका सीइओ र संचालकहरुले सरकारको नीतिलाई साथ दिएर ‘बिग मर्जर’मा जानुपर्नेमा जोड दिएका थिए । सो क्रममा बैंकहरुबीच ‘बिग मर्जर’को नीति बजेटले लिए पनि राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत त्यसको मोडालिटीको विषयमा स्पष्ट नपारिसकेकोले केही अन्यौल रहेको र यस्तो अवस्थामा अहिले नै अगाडि बढिहाल्न कठीन भएको विश्लेषण गरिएको थियो । 

‘केन्द्रीय बैंकको निर्देशनलाई हामीले पालना गर्नुपर्छ । तर, मर्जर मोडालिटीको ब्ल्याक एण्ड ह्वाइट तस्विर नहुँदा हामीलाई कुन मोडलबाट अगाडि बढ्ने भन्ने विषयमा अन्यौल भयो ।’ छलफलमा सहभागी एक बैंकरले बिजशालासँग भने–‘सरकारको ‘बिग मर्जर’को नीतिलाई सफल पार्नका लागि समेत तीनवटा सरकारी बैंक आपसमा मर्ज गर्न सकिए यसले अरुका लागि समेत राम्रो पाठ हुने विषयमा सबै बैंकका उच्च अधिकारी सहमत देखिनुभयो ।’ 

सो क्रममा तीनवटै बैंकका अधिकारीहरुले मर्जर गर्दाको समानता, अप्ठ्यारा सप्ठ्यारा विषयमा समेत खुलेरै छलफल गरेका थिए ।  

सरकारी स्वामित्वको बैंक भएकोले सरकारको निर्णय महत्वपूर्ण र अन्तिम हुने भन्दै छलफलमा सहभागी नेपालका बैंकका एक संचालकले भने–‘सोमबारको छलफलबाट हामी मर्जरमा जान तयार छौ भन्ने देखियो । तर, बाँकी कुरामा सरकारले गाइड गर्नुपर्छ । सरकारले संकेत मात्र गरिदिए पुग्छ, हामी ‘बिग मर्जर’को राजमार्गमा दौडिन तयार छौ ।’