काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले चाँडै सार्वजनिक खरीद ऐन संसोधन गरी सरकारी निकाय तथा सार्वजनिक संस्थानहरुमा अनिवार्य रुपमा स्वदेशी उत्पादन प्रयोगको बाध्यकारी व्यवस्था गर्न लागेको बताएका छन् । 

नेपाल धागो उत्पादक संघद्वारा आयोजित ‘नेपाल यार्न एण्ड टेक्सटाइल एक्स्पो–२०१९’ को भृकुटीमण्डपमा बिहीबार उद्घाटन गर्दै अर्थमन्त्री डा. खतिवडाले सो कुरा बताएका हुन् । 

उनले सरकारले स्वदेशमै उत्पादन थाल्ने व्यवसायीहरुलाई धेरै खालका छुटदेखि संरक्षणसम्मको ग्यारेण्टी गर्ने उल्लेख गर्दै सरकारी कार्यालय, सार्वजनिक संस्थान, सुरक्षा निकाय लगायतमा स्वदेशी उत्पादन नै अनिवार्य प्रयोग गर्नुपर्ने गरी सार्वजनिक खरीद ऐन संसोधन हुन लागेको खुलाए । 

‘हामी यी क्षेत्रबाट स्वदेशमै उत्पादन कपडा अनिवार्य रुपमा प्रयोग हुनुपर्ने बाध्यकारी व्यवस्था गर्दैछौ ।’ उनले थपे–‘संसोधन हुन लागेको खरीद ऐनमा बाध्यकारी व्यवस्था आउँदैछ, तर तपाईहरुले उत्पादन गर्ने वस्तु चाहि गुणस्तरीय र स्वभाविक मूल्यको हुनुपर्दछ ।’ 

उनले अन्य स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि समेत सरकारले विशेष तयारी गरिरहेको बताए । 

उनले निजी क्षेत्रलाई बन्द रहेका सरकारी स्वामित्वका उद्योग तथा संस्थानहरुलाई लिजमा लिएर उत्पादनको काम थाल्न समेत आह्वान गरे  । बुटवल धागो कारखाना, हेटौडा कपडा उद्योग निजी क्षेत्रलाई लिजमा दिई संचालन गर्ने सरकारको तयारी रहेको बताए । ‘यो विषय समेत क्याबिनेटबाट पास हुने अवस्थामा छ ।’ उनले भने–‘म निजी क्षेत्रलाई आह्वान गर्न चाहन्छु कि सरकारको सार्वजनिक संस्थान तथा रुग्ण बनेका उद्योग लिजमा लिएर संचालन गर्न तयार हुनुहोस्।’ 

भन्सारको दरबाट सोझै संरक्षण दिने विषयले नकारात्मक असर पुर्याउनेतर्फ सचेत हुनुपर्नेमा जोड दिंदै उनले अगाडि थपेका छन्–‘भन्सार दरबाट सोझै संरक्षणको मात्र कुरा गर्दै उपभोक्ताले अस्वभाविक रुपमा मूल्य तिर्नुपर्ने हुनसक्छ  भने अर्को खुल्ला सीमानाका कारण अनधिकृत व्यापार फस्टाएर तपाईहरुकै बजार गुम्ला भन्ने पीर हुन्छ । त्यसकारण यस्ता नकारात्मक प्रभावको बीचबाट समस्याको समाधान खोजिन आवश्यक छ ।’ 

उनले स्वदेशमा जे उत्पादन गरिन्छ, त्यसको कच्चा पदार्थ समेत यही तयार गर्नुपर्नेमा जोड दिए । 

कपासजन्य उद्योग तथा कृषिजन्य उद्योग व्यवसाय संचालन गर्न आउनेलाई सरकारले प्रोत्साहन दिइरहेको उल्लेख गर्दै युवाहरुलाई एकीकृत भई यस्तो क्षेत्रको उद्योग र व्यवसायमा लगानी गर्न आग्रह गरे । ‘हामीले ५ करोड रुपैयाँसम्मको ऋण लिंदा ५ प्रतिशत ब्याज अनुदान दिएका छौ । हालसम्म कृषिजन्य उद्योग तथा व्यवसाय गर्नैका लागि यस्तो ऋण १८ हजार युवाले लगेका छन् । सरकारले हालसम्म झण्डै डेढ अर्ब नै अनुदान दिइसकेको छ । सरकारले कृषिजन्य उत्पादनमा अनुदान दिन लोभ गर्दैन । उत्पादनमा अनुदान दिन समेत सरकारले लोभ गर्दैन, तर उपभोगमा अनुदान माग्ने काम नगरौं ।’ उनले भने । 

उत्कृष्टता, कुशलता, लागत प्रभावकारिता आत्मनिर्भरताका पूर्व शर्त रहेका उल्लेख गर्दै उनले व्यवसायीमा उद्यमशीलता, अनुसन्धान, इन्नोभेसन र नयाँ संभावना खोजीप्रतिको चाहना हुनुपर्ने सुझाव दिए । ‘त्यसलाई संरक्षण गर्ने र व्यवसाय गर्ने अनुकूल वातावरण बनाइदिने काम चाहि सरकारको हो ।’ उनले थपे । 

उनले कपडा, धागो, कपास र रेशाजन्य वस्तु उत्पादनमा राज्यले केही समयसम्म संरक्षण नदिने हो भने अन्तराष्ट्रिय र क्षेत्रीय व्यापार प्रतिस्पर्धामा देश अगाडि बढ्न नसक्ने विश्लेषण सुनाए । ‘यही कारण केही अनुदानका कुरालाई अगाडि बढाएका छौ । विद्युतमा राहात दिने कुरा तथा बैंक ब्याजमा सहुलियत दिइने कुरा आउँदैछ । आयकरमा छुट दिइने कुरा पहिलादेखि नै छ । यो विषयमा हामी संवेदनशील छौ, यी सुविधा कार्यान्वयनमा ल्याउने गरी अगाडि बढेका छौ ।’ 

दशैंका लागि यस्तो आह्वान
अर्थमन्त्री डा. खतिवडाले देशबासीसँग यसपटकको दशैं स्वदेशी उत्पादन प्रयोग गरी विशेष बनाइदिन सार्वजनिक आह्वान पनि गरेका छन् ।

‘उपभोक्ताहरुलाई यसपटकको दशैं कुनै न कुनै स्वदेशी वस्तु खरीद गरेर अभियानकै रुपमा मनाउने काम गर्नुपर्छ ।’ उनले भने–‘राष्ट्रिय उत्पादनहरुलाई समेत उपभोग गरर यसपटकको चाडपर्व मनाऔं, आम देशबासीलाई मेरो दशैंको अवसरमा यही आह्वान तथा शुभकामना ।’