काठमाण्डौ । माछापुच्छे बैंक लिमीटेड, यूकेएड सक्षम र हेफर इन्टरनेशनल नेपालको एक औपचारिक कार्यक्रमबीच संयुक्त सहकार्यमा ग्रामीण क्षेत्रमा रहेका महिला उद्यमी तथा कृषकहरुलाई आफ्नो जीवनस्तरमा आर्थिक सुधारका लागि सरलीकृत लघुकर्जा दिने सम्बन्धी सम्झौता भएको छ । 

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, यूकेएड सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहाल र हेफर इन्टरनेशनल नेपालको तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोेले संयुक्त रुपमा हस्ताक्षर गरे ।

सो कार्यक्रममा बोल्दै शर्माले यस सहकार्यबाट देशभरका १४ वटा जिल्लाबाट महिला उद्यमी, कृषक तथा साना उद्यमीलाई बिनाधितो सरलीकृत कर्जा प्रदान गरिने बताए । 

साथै, बैंकले कुल ४,३०० कृषक एवम् महिला उद्यमीलाई ऋण प्रवाह गर्ने, ३,००० को संख्यामा खाता खोल्ने, देशभरका विभिन्न क्षेत्रबाट वित्तीय साक्षरता प्रदान गर्ने, शाखारहित सेवा केन्द्रको विस्तार गर्ने तथा नेपालमै पहिलो पटक नौलो कर्जा सेवा “किसान क्रेडिट कार्डकोे सेवा प्रदान गर्ने उद्देश्य समेत राखेको बताएका छन् ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्सटेन्सन काउण्टरहरु लगायत ३९ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२६ स्थानबाट सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १०७ वटा एटीएमहरु सञ्चालनमा छन् ।

सक्षम यूकेएडको वित्तीय सहयोग प्राप्त एक्सेस टु फाइनान्स कार्यक्रम हो । यसलाई नेपालमा डिफिड नेपालका लागि लुइस बर्जरले विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको साझेदारीमा कार्यान्वयन गर्दै आएको छ ।

हेफर ईन्टरनेशनल नेपालसानाकिसानहरुको दिगो बिकासमा अग्रणी भुमिका खेल्ने अन्तराष्ट्रिय गैर सरकारी संस्थाको रुपमा परिचित छ । हालसम्म हेफरले बाख्रा तथा दुग्ध मूल्य श्रृंखलामा आधारित उद्यमहरु मार्फत नेपालका ४१ जिल्लाका २ लाख ५० हजार भन्दा बढी गरीब तथा उत्पीडित परिवारहरुलाई सहयोग पुर्याइएको छ । 

हाल हेफरले विभिन्न बैंक तथा वित्तिय संस्थाहरुसंगको सहकार्यमा २२६ वटा महिला उद्यमी सहकारीहरुलाई कर्जा तथा वित्तमा पहुंच बढाउने उद्देश्यका साथ कार्यक्रमहरु संचालन गरेको छ ।