काठमाण्डौ । राष्ट्रिय जनता पार्टी (राजपा)ले सरिता गिरीलाई प्रतिनिधिसभा सदस्यबाट निस्कासन गरेको छ । 

राजपाले सोमबार गिरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी सांसद पदबाट निश्कासन गरेको हो । 

भारतले मिचेको सीमासहितको नयाँ नक्सा समेटेर बनाइएको नयाँ निशान छापको विषयमा संसदबाट संविधान संशोधन हुनै लाग्दा गिरीले संसोधन प्रस्ताव खारेजीका लागि निवेदन दिएकी थिइन् । संविधान संसोधन खारेजीको निवेदन पार्टीको नीति विपरीत रहेको भन्दै सो फिर्ता लिन राजपाले उनलाई भनेको थियो । तर, पार्टीको निर्देशन नमानेपछि राजपाले उनलाई कारबाही गरेको हो । 

राजपा र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीले मुलुक नयाँ नक्शा कार्यान्वयनको लागि संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको थियोे  । जनता समाजवादी पार्टीले आफ्ना सांसदहरूलाई संविधान संशोधनको पक्षमा मतदान गर्न ह्वीप नै जारी गरेको थियो । तर, सरिता गिरीले सो ह्वीप समेत मानिनन् र संसोधन प्रस्ताव पास हुने दिन शनिवार बैठक बहिस्कार गरी हिँडिन् ।