काठमाण्डौ । सर्टटर्म कारोबारीले बजार बढेको मौकामा प्रोफिट बुक गर्न थालेपछि नेप्से परिसूचकमा सोमबार सामान्य अंकको करेक्सन भएको छ ।

०.१३ अंकको झिनो करेक्सन भएको बजारमा कारोबार रकम ६८ करोड माथि छ । यसकारण सामान्य करेक्सनमै लगानीकर्ता अत्तालिनुपर्ने अवस्था छैन । 

सोमबारको बजार हेर्दा सर्टटर्म कारोबारी र लङटर्म लगानीकर्ताबीच रस्साकस्सी नै भएको देखिन्छ । तर, अन्ततः सर्टटर्म कारोबारी हाबी बुँदा बजारमा करेक्सन आएको हो।

यो दिन ‘क’ वर्गका कम्पनीहरुमा केही बिक्री चाप देखिएको छ । केही दिनदेखि ‘क’ वर्गकै कम्पनीको मूल्य बढेका कारण सर्टटर्म कारोबारीहरुले तिनै सेयर बढेको मूल्यमा बेचेर प्रोफिट बुक गरेका बजारको यो प्रवृतिबाट देखिन्छ । यहीकारण सोमबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.४९ अंकले बढेको छ । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.१४ अंकले घटेको छ ।

यो दिन ६ वटा समूहको परिसूचक घटेको छ भने ५ समूहको सूचकमा बढोत्तरी भएको छ। 

अन्य दिन बजार उचालेको बैंकिंग समूह सोमबार भने ७.०२ अंकले घटेको छ । यस्तै, होटल समूह १८.८४ अंक, विकास बैंक ५.१५ अंक, जलविद्युत समूह १०.२८ अंक, बित्त समूह २.४४ अंक र अन्य समूह २.४८ अंकले बढेको छ । 

व्यापार समूह ३.१७ अंकले बढेको यो दिन निर्जीवन बिमा समूह २०३.४६ अंकले बढेको छ भने जीवन बिमा समूह ११९.७३, उत्पादनमूलक २४.५१ अंक र माइक्रोफाइनान्स समूह ५.६३ अंकले बढेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६७ कम्पनीका २४ लाख २५ हजार ३ सय ३ कित्ता सेयर ६८ करोड ७६ लाख ८८ हजार ६ सय ५३ रुपैयाँमा कारोबार भएको छ । 

यो दिन सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको ९ करोड २६ लाख बढीको संस्थापक सेयर किनबेच भएको छ । 

यसैगरी, एनएमबी बैंकले ६ करोड २१ लाख बढीको कारोबार गरेको छ भने प्रभू बैंकले २ करोड ९१ लाख, नेपाल बैंकले २ करोड ४५ लाख, कुमारी बैंकले २ करोड २१ लाख, जनता बैंक नेपालले २ करोड १६ लाख, एनआइसी एशिया बैंकले २ करोड १५ लाख, एनसीसी बैंकले १ करोड ७५ लाख, नेपाल इन्स्योरेन्स कम्पनीले १ करोड ५७ लाख र मेगा बैंकले १ करोड ५४ लाख बढीको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन पनि भार्गव विकास बैंकका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ९.४२ प्रतिशतले बढ्यो । यो दिन प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले ५.७८ प्रतिशतले सम्पत्ति कमाएका छन् । 

यो दिन एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ४.२९ प्रतिशतले घट्यो ।