-भक्तराज रसाइली
काठमाण्डौ । सेयर आज किनेर भोलि नै बेच्ने बानी छ भने अब त्यो बानी छाडिहाल्नुस् । किनकि बाठा र चतुर खेलाडीहरुले किनेको सेयर आफ्नो डिम्याट खातामा नआई यस किसिमको हत्कण्डा मच्चाउने प्रवृतिलाई नेप्सेले चकनाचुर बनाउने प्रक्रिया थालेको छ । 

नेप्से र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको हिजो(सोमबार) बसेको उच्चस्तरीय बैठकले सेयरधनीको डिम्याटमा सेयर भएपछि मात्र बेच्न पाउने व्यवस्था निकट भविष्यमै लागू गर्ने बिषयमा गोप्य सहमति कायम गरेको छ ।  

यही सहमति अनुसार नेप्सेले सीडीएससीसँग लगानीकर्ताहरुको सम्पूर्ण विवरण समेत मागेको उच्च स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार सीडीएससीमा आबद्ध रहेका क्लाइन्टका होल्डिङ्ग डाटा मागिएको हो । 

नेप्सेले यस किसिमको डाटा तानेर आफ्नो सिस्टममा सिन्क्रनाइज गरेपछि सर्टटम कारोबारीले आफ्नो खातामा सेयर नभई बेच्ने परिपाटी अन्त हुनेछ । यो कदमपछि ५ दिन खातामा नआई भोलिपर्सि नै तुरुन्त बेचेर नाफा बुकिङ्ग गर्ने चतुर लगानीकर्ताले टाउकोमा हात राख्नुपर्नेछ। 

सिस्टममा सेयरको विवरण देखिएपछि मात्र बेच्न मिल्ने यस किसिमको व्यवस्थाले बजारको सन्तुलित विकासमा टेवा पुग्ने जानकारहरुको भनाई  छ ।

हिजोआज केही चतुर सेयर खेलाडीहरुले गर्ने यस किसिमको सर्टसेलिङ्गलाई प्रतिबन्ध लगाउनका निम्ति यस किसिमको व्यवस्था ल्याउन लागेको र यसले जोखिम व्यवस्थापन तथा लगानी सुरक्षाका लागि पनि काम गर्ने नेप्सेका अधिकारीहरुको भनाई छ । 

आजकाल नेप्से थोरै बिन्दूले परिवर्तन हुँदा सर्टटम कारोबारीका कारणले बजारमा हजारौं लगानीकर्ता फस्ने र केही मुठ्ठीभरका लगानीकर्ताहरुले मात्रै कमाउने प्रवृति बढ्दो छ । यस्तै प्रवृति र चलखेललाई बन्देज लगाउन नेप्सेले चालेको कदम स्वागतयोग्य हुने एक ब्रोकर बताउँछन् ।

सिडिएससीका एक उच्च अधिकारीले नेप्सेले व्यवस्थित र सुरक्षित ढंगले लगानीकर्ताको तथ्यांक राख्न सके त्यसमा सहयोग गर्न आफूहरु तयार रहेको बताए । ‘आम लगानीकर्ताको हित र सुरक्षाका निम्ति सेयरलगानीकर्ताहरुको डाटा दिन हामी तयार भएका हौ ।’ ती अधिकारीले बिजशालासँग भने ।