काठमाण्डौ । सर्टटर्म कारोबारीले थोरै भए पनि प्रफिट बुक गरिहाल्ने हतारोले समेत बुधबारको बजार घटेन । त्यस्ता कारोबारी हाबी भएका कारण यो दिन कारोबार अवधिभर नै उतारचढाव व्यहोरेको बजार अन्ततः ५ अंकले बढेर बन्द भयो । 

सर्टटर्म कारोबारीलाई निस्तेज गरेको बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम समेत बढेको छ । नेप्से परिसूचक ५ अंकले बढेको यो दिन कारोबार रकम बढेर ८२ करोड माथि पुगेको छ । 

केही विश्लेषकहरुका अनुसार यसरी नेप्से परिसूचक(इण्डेक्स) र कारोबार रकम(टर्नओभर) समानान्तरले ढंगले बढ्नु सुखद संकेत हो । विगत केही दिनदेखि यो प्रवृति देखिएकोले बजार बुल चक्रतर्फ अग्रसर हुँदै गएको विश्लेषकहरुको दाबी छ । उनीहरुले १२०० विन्दूको मनोवैज्ञानिक लाइन पार गरेको बजार अब केही समयसम्म यसकै सेरोफेरोमा घुमिरहन्छ । सामान्य करेक्सनका बीच पुनः बजार बढेर अझ उकालो लाग्नेमा यो पटक प्राविधिक र फण्डामेन्टल विश्लेषकहरुको मत मिलेको छ । यसकारण समेत अब बजारमा बुलिस प्रवृति सुरु हुने बलिया आधारहरु तयार भइरहेका छन् । 

नेप्सेको ठूलो हिस्सा ओगटेर बसेको बैंकिङ समूहको केही दिनअघिदेखिको दैनिक प्रदर्शनमा सुधार भएका कारण समेत लगानीकर्ता उत्साहित देखिएका छन् । 

मंगलबार झै बुधबार समेत बजारलाई बैंकिङ समूहले नै ड्राइभ गरेको छ । यो दिन बैंकिङ समूह ८.९२ अंकले बढेको छ । विकास बैंक समूहमा ४.०९ अंकको वृद्धि भएको यो दिन होटल समूह १.६३ अंक र जीवन बिमा समूह ३८.१९ अंकले बढेका  छन् । 

बाँकी उपसमूहको सूचक भने घटेको छ । जलविद्युत समूह ०.४४ अंकले बढेको यो दिन बित्त समूह ०.१३ अंक, निर्जीवन बिमा समूह ९.३८ अंक, उत्पादनमुलक ८.४२ अंक, माइक्रोफाइनान्स समूह १४.०२ अंक र अन्य समूह ०.२७ अंकले घटे ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७१ कम्पनीका  २८ लाख १ हजार ६१३ कित्ता सेयर  ८२ करोड १६ लाख ९८ हजार १० रुपैयाँमा किनबेच भएको छ । 

धेरै कारोबार गर्ने १० कम्पनीमा वाणिज्य बैंककै बोलवाला रह्यो । 

सबैभन्दा बढी एनएमबी बैंकले ७ करोड २६ लाख बढीको कारोबार गर्यो । 

एनआइसी एशियाले ४ करोड ५४ लाख, नेपाल बैंकले ४ करोड ३३ लाख, प्रभू बैंकले ४ करोड ३१ लाख, कुमारी बैंकले ३ करोड ८८ लाख, माछापुच्छ्रे बैंकले ३ करोड ६ लाख, सिद्धार्थ बैंकले ३ करोड ९९ लाख, सिभिल बैंकले २ करोड ५८ लाख, इन्भेष्टमेन्ट बैंकले २ करोड ३३ लाख र एनसीसी बैंकले २ करोड २५ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सिभिल लघुवित्त वित्तीय संस्थाका सेयरधनीले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा बढ्यो । 

कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा घट्यो ।