काठमाण्डौ । दुई दिनसम्म उछालको गतिमा दौडिएको बजारमा बिहीबार भने दोहोरो अंकको करेक्सन भएको छ । 

मंगलबार र बुधबार उच्च अंकले बढेको बजारमा नाफा बुक हतारोका कारण नेप्से परिसूचकमा १८.१२ अंकको करेक्सन आएको हो । 

पछिल्लो समय सेयरबजारमा लंगटर्म इन्भेष्टर भन्दा सर्टटर्म कारोबारी हाबी छन् । उनीहरुले बजार थोरै अंकले बढ्नासाथ नाफा बुक गर्ने हतारो गर्छन् । यही प्रवृतिका कारण बजारमा करेक्सन हुने गर्छ । बिहीबारको बजारमा समेत यस्तै करेक्सन देखिएको हो। 

यो दिन अघिल्ला दुई दिनमा धेरै मूल्य बढेको राम्रा र बलिया कम्पनीमै बढी बिक्री चाप देखियो । यहीकारण सेन्सेटिभ इण्डेक्स ३.४९ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.२२ अंकको गिरावट देखियो । 

ट्रेडिङ समूह र म्युचुअल फण्ड समूहको उपसूचकमा झिनो बढोत्तरी देखियो भने बाँकी सबै समूहको उपसूचकमा रातो पोतियो । 

बैंकिङ समूह १४.७९ अंकले घटेको यो दिन होटल समूहमा ४८.९३ अंकको गिरावट आएको छ । 

विकास बैंक समूह ११.७८ अंकले घटेको छ भने वित्त समूह ०.६९ अंक, जलविद्युत समूह १३.२२ अंक, होटल समूह ४८.९३ अंक, माइक्रोफाइनान्स समूह १२.५६ अंक, जीवन बिमा समूह १०५.६ अंक, निर्जीवन बिमा समूह १०५.३२ अंक, उत्पादन तथा प्रशोधन समूह ४४.१२ अंक र अन्य समूह १८.२४ अंकले घटेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६६ कम्पनीका १२ लाख २४ हजार ५७२ कित्ता सेयर ३९ करोड ९९ लाख ३० हजार ८७१ रुपैयाँमा किनबेच भएको छ। 

सबैभन्दा बढी शिवम् सिमेन्टले ५ करोड २४ लाख बढीको कारोबार गरेको छ भने प्रभू बैंकले २ करोड ६७ लाख, सिद्धार्थ बैंकले १ करोड ८१ लाख, नेशनल माइक्रोफाइनान्सले १ करोड ७३ लाख, नेपाल बैंकले १ करोड ६५ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ५२ लाख, नागरिक लगानीकोषले १ करोड ५१ लाख, नवील बैंकले १ करोड २ लाख, कृषि विकास बैंकले ९६ लाख र अपर तामाकोशीले ९० लाख बढीको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन समता माइक्रोफाइनान्सका लगानीकर्ताले कुस्त कमाए । कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको बढोत्तरीसँगै सर्किट लाग्यो । 

एक्सल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.२२ प्रतिशतले सम्पत्तिको मूल्य बढाए । 

यो दिन गुराँस लघुवित्त र स्पर्श लघुवित्तका लगानीकर्ताले धेरै गुमाए । गुराँस लघुवित्तको सेयर मूल्य ८.४६ प्रतिशतले तथा स्पर्शको ८.१३ प्रतिशतले घट्यो ।