काठमाण्डौ । आफ्नो माग पूरा हुने अन्तिम अवस्थामा पछाडि हटेपछि तीव्र आलोचना व्यहोरेका सेयर लगानीकर्ता संघसंगठनले सेयर राफसाफ तथा फछ्र्यौटमा लागू गर्ने भनिएको टी प्लस वानको व्यवस्थाको स्वागत गरेका छन् । 

पूर्वघोषणा अनुसार शुक्रबार बसेको नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ र नेपाल पूँजीबजार संघको संयुक्त बैठकले एकदिने कारोबार राफसाफ पद्धति(टी प्लस वान) कार्यान्वयन हुन लागेकोमा खुशी व्यक्त गर्दै त्यसलाई स्वागत गर्ने निर्णय गरेको छ। 

‘नेपाल सरकार र लगानीकर्ताहरुको बीचमा भएको ५८ बुँदे सहमति कार्यान्वयन गर्ने शिलशिलामा टी प्लस वान कार्यान्वयन लागेको कुरा सम्पूर्ण सेयर लगानीकर्ता साथीहरुमा हामी हार्दिक बधाई ज्ञापन गर्र्दछौ ।’ बैठकपछि जारी सामूहिक विज्ञप्तिमा भनिएको छ–‘यो पद्धति यथाशीघ्र प्रयोगमा ल्याउँदा सम्पूर्ण लगानीकर्ता लाभान्वित हुने र हामीले माग गरेका अरु बुँदाहरु क्रमशः कार्यान्वयन हुँदै जाओस् भन्ने आशा राख्दछौ ।’
 
टी प्लस वान पद्धति कार्यान्वयनका लागि संगठनहरुले सकारात्मक बनेसँगै उनीहरुले इन्ट्रा डे कारोबारको स्तरसम्म नेपालको सेयर बजार पुग्नुपर्नेमा समेत जोड दिएका छन् । 

टी प्लस वानमा लगानीकर्ताहरुले आफूले सेयर किन्दा सोही दिन नै भुक्तानी गर्नुपर्ने, तर सेयर बिक्री गर्दा चाहि ३ दिनपछि मात्रै सेयर बेचेको पैसा हात पर्ने भएकाले आफूहरुले यो विषयमा असहमति जनाएको बताएका थिए । सम्बन्धित निकायमा यो विषयलाई समेत बलियोसँग उठाउने आन्तरिक सहमति बनेको एक नेताले दाबी गरे ।

नेप्सेले गत सोमबार आफ्नो कार्यालयमा डाकेको बैठकमा टीप्लस वानको कार्यान्वयनका लागि भएको छलफलमा संघका नेताहरूले टीप्लस वान  राफसाफ चक्र लागू हुँदा लगानीकर्ताले सेयर खरिद गर्दा ब्रोकरलाई आजै भुक्तानी दिनुपर्ने र बिक्री बापतको रकम भने ३ दिनपछि मात्रै हात पर्ने भएकाले यो किसिमको  व्यवस्थाले असमान व्यवहार भएको भन्दै आपत्ति जनाएका थिए । लगानीकर्ताका नेताको सोही आपत्तिका कारण सो दिनको छलफल निश्कर्षविहीन बन्न पुगेको थियो । 

लगानीकर्ताका नेताहरु आफ्नै माग पूरा हुने अवस्थामा पछाडि हटेपछि उनीहरुको चौतर्फी आलोचना भएको थियो । सारा आलोचनाहरुलाई पन्छाउँदै अन्ततः उनीहरु टी प्लस वान पद्धतिलाई स्वागत गर्ने निर्णयमा पुगेका हुन् ।