काठमाण्डौ । नेपाली सुन बजारमा सुनको भाउले आइतबार फेरि रेकर्ड ब्रेक गर्दै ऐतिहासिक उचाइमा पुगेको छ।

यो साता कारोबारको पहिलो दिन आइतबार सुनको भाउमा तोलामै ७०० रुपैयाँ बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो। कोरोना महामारीका कारण अन्य व्यापारव्यवसाय ओरालो लाग्न थालेपछि कारोबारहीहरुले सुरक्षित लगानीका रुपमा सुनमा पैसा खन्याइरहेका छन्। जसका कारण विश्व बजारमा सुनको भाउ उकालो लागेको छ। यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ७०० रुपैयाँ बढ्दै प्रतितोला छापावाल सुन ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९० हजार ८६० रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च भाउ हो।

गत साता कारोबारको अन्तिम दिन सुनको भाउ तोलामै ५०० रुपैयाँको गिरावट आएको थियो। उक्त दिन प्रतितोला छापावाल सुन ९० हजार ६०० रुपैयाँ र तेजाबी सुन ९० हजार १६० रुपैयाँमा झरेको थियो। 

यसैगरी आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको छ। योसँगै चाँदीको भाउ प्रतितोला ९४५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला ९४० रुपैयाँमा कारोबार भएको थियो। 

सुनको भाउ बढेसँगै बजारमा किन्नेभन्दा बेच्ने ग्राहकको संख्या ह्वात्तै बढेको छ। जसका कारण सुन कारोबार प्रभावित बन्न पुगेको छ।