काठमाण्डौ । फोब्र्सले विश्वका सर्वाधिक धनाढ्य व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ ।

फोब्र्सले हालै सार्वजनिक गरेको ‘दी रियल टाइम बिलियनर्स’ सूचीमा भारतको बहुराष्ट्रिय कम्पनी रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानी पनि पर्न सफल भएका छन् । उनी यो सूचीमा नवौँ स्थानमा छन् । उनको कुल सम्पत्ति ६० अर्ब अमेरिकी डलर पुगेको छ ।

धनाढ्यको सूचीमा पहिलो नम्बरमा अमेजनका संस्थापक तथा सीईओ जेफ बेजोस पहिलो स्थानमा रहेका छन् । उनको कुल १ खर्ब १३ अर्ब डलर सम्पत्ति रहेको छ ।

दोस्रो स्थानमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स छन् । उनको सम्पत्ति १ खर्ब ७ अर्ब ४० करोड डलर रहेको छ । त्यस्तै LVMH Moet Hennessy Louis Vuitton कम्पनीका प्रमुख तथा सीईओ बर्नार्ड आर्नोउल्ट १ खर्ब ७ अर्ब २० करोड डलरसहित तेस्रो स्थानमा छन् ।

यसैगरी सूचीको चौथो र पाँचौँ स्थानमा क्रमशः वारेन बफेट र फेसबुकका सीईओ मार्क जुकरबर्ग छन् । वारेन बफेट कुल सम्पत्ति ८६ अर्ब ९० करोड डलर र जुकरबर्गको ७४ अर्ब ९० करोड डलर रहेको छ ।

उता जारा ब्राण्डको स्वामित्व रहेको इन्डिटेक्स कम्पनीका संस्थापक एमान्सिओ ओर्टेगा ६९ अर्ब ३० करोड डलरसहित छैटौँ स्थानमा छन् । त्यस्तै सफ्टवेयर कम्पनी ओरेकलका संस्थापक ल्यारी इलिसन ६९ अर्ब २० करोड डलरसहित सातौं स्थानमा छन् ।

कार्लोस स्लिम हेलु कूल ६० अर्ब ९० करोड डलर सम्पत्तिसहित आठौँ स्थानमा छन् ।

त्यस्तै भारतीय अर्बपति मुकेस अम्बानी नवौँ र अल्फाबेटका सीईओ ल्यारी पेज कुल सम्पत्ति ५९ अर्ब ६० करोड डलरसहित दसौँ स्थानमा छन् । – एजेन्सी