काठमाण्डौ । नेपालमा कियाको विद्युतीय गाडी निरो बुकिङ गरेका ग्राहकले लकडाउन खुलेलगत्तै उक्त एसयुभी चलाउन पाउने भएका छन् । 
नेपालका लागि कियाको एकल अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले लकडाउन खुलेलगत्तै बुकिङ गरेका ग्राहकलाई उक्त गाडी हस्तान्तरण गर्ने तयारी गरेको जनाएको छ । 

उक्त गाडीको कन्साइनमेन्ट (खेप) कोरियाबाट नेपालका लागि एक हप्ता अगाडि नै चलान भइसकेको छ । लकडाउन खुल्दासम्म गाडी नेपाल आइसक्ने भएकोले कम्पनीले बुकिङ गरेका ग्राहकलाई गाडी नेपाल आइपुग्नेबित्तिकै हस्तान्तरण गर्ने योजना बनाएको दाबीसमेत गरेको छ ।
एकपटकको फुल चार्जमा ४८० किलोमिटरसम्म गुड्ने उक्त एसयुभी नेपाली कार पारखीले निकै रुचाएर बुकिङ गरेका छन् । यसमा ६४ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । यसको १५० किलोवाटको इलेक्ट्रिक मोटरले २०१ बिएचपी पावर र ३९५ एनएम टर्क उत्पादन गर्छ । यो एसयुभी स्टार्ट गरेको ८ सेकेन्डभित्रै १०० किलोमिटरको गतिमा कुद्न सक्छ ।

डिसी फास्ट चार्जरबाट पूरा चार्ज गर्न ८० मिनेट लाग्ने यो गाडी भित्रिएपछि नेपाली बजारमा सर्वाधिक माइलेज दिने विद्युतीय एसयुभीमा यही पर्नेछ । निरो सन् २०१९ को पहिलो त्रैमासबाट एसियाली बजारमा बिक्री सुरु गर्ने निर्माता कम्तीको योजना अनुरुप नेपाल आउन लागेको हो ।