काठमाण्डौ । देशको बैंकिङ क्षेत्रमा चुलिएको विकृति र लुटतन्त्रप्रति गभर्नर डा. चिरञ्जिवी नेपालले असन्तुष्टिसँगै व्यङ्ग्य समेत गरेका छन्। 

प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले सर्वोच्चमा दायर गरेको रिटमा अन्तरिम आदेशसँगै राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाका सीइओ तथा संचालकहरुको उमेरमा लगाएको सीमा सम्बन्धी व्यवस्था तुहिएसँगै उनले अदालत र समग्र प्रणाली तथा प्रवृतिप्रति नै रोष प्रकट गरेका हुन् । 

बुधबार अर्थ समितिले बोलाएको बैठकअघि केही आर्थिक पत्रकारसँगको कुराकानीमा उनले मंगलबारको सर्वोच्च अदालतको आदेश र बैंकिङ क्षेत्रमा व्याप्त लुटतन्त्रप्रति इंगित गर्दै भने–‘लुट्न सके लूट कान्छा भनेको यही हो ।’ 

अदालतको आदेशमा असन्तुष्ट रहेका गभर्नर नेपालले नाइटो जत्रो मुलुकमा सबै गुजुल्टोमा बेरिएको उल्लेख गर्दै इनोभेटिभ र कृएटिभ कार्य गर्न खोज्दा न्यायालयको अवरोध आइपरेको टिप्पणी समेत गरेका थिए । 

अर्थसमितिले डाकेको बैठकमा समेत सोही विषयमा छलफलकै क्रममा निकै आक्रमक देखिएका नेपालले ‘बिग मर्जर’का विषयमा समेत बोले । कुनै एक ठूलो आयोजनामा ५–१० वटा बैंक मिलेर सहवित्तीय कर्जा वितरण गर्नुपर्ने अवस्था अन्तका लागि समेत बलियो बैंकको आवश्यकता महसुस गरी राष्ट्रबैंकले बिग मर्जरको नीति ल्याएको उनको प्रष्टोक्ति थियो । आइटी र अन्य संचालन खर्चमा निकै वृद्धि भएको र यसलाई व्यवस्थापन गर्ने कुरा चुनौतिपूर्ण रहेकोले ठूला बैंकहरु मर्जरमा जानुपर्ने आवश्यकता रहेको उनको भनाई थियो ।